४ वैशाख,काठमाडौं । सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई जिल्ला अदालत काठमाडौंले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो। सोही इजलासले गत चैत २२ गते बिष्टलाई सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गरेको थियो।
मुद्दाको विवरणअनुसार, बिष्टले सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी अनाधिकृत पत्र तयार गर्दै रेशम चौधरीलाई जेल पठाउने सम्बन्धमा प्रक्रिया अघि बढाएका थिए। सो कार्य न्यायिक सुनुवाइबिनै भएको भन्दै विवाद उत्पन्न भएको थियो।
घटनापछि उक्त पत्र अनधिकृत भएको खुलासा भएपछि रेशम चौधरीलाई तत्काल जेलमुक्त गरिएको थियो। त्यसपछि बिष्टलाई पक्राउ गरी प्रहरीले सरकारी कागजात किर्ते सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
पीडित पक्षले पनि आफूलाई गैरकानुनी रूपमा दुःख दिइएको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो।

















