४ बैशाख, काठमाडौं । स्वदेशमा पर्याप्त रोजगारीको अवसर अभाव हुँदा नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको मोह झन् गाढा बन्दै गएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चैत महिनामा मात्रै ५ लाख ८७ हजार ३२२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यो संख्याले मुलुकको श्रम शक्ति पलायनको भयावह चित्र प्रस्तुत गरेको छ, जसमा नयाँ जानेभन्दा पनि बिदामा आएर पुनः विदेश फर्कनेहरूको संख्या निकै उच्च देखिएको छ ।
नयाँभन्दा अनुभवीको लर्को
विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार चैतमा पहिलोपटक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १ लाख ९६ हजार ७७८ छ । तर, विदेशमा काम गरेर फर्किएका र पुनः जानका लागि श्रम स्वीकृति नवीकरण गर्नेहरूको संख्या २ लाख ९३ हजार २५७ पुगेको छ । यसले नेपाली कामदारहरू स्वदेशमा स्वरोजगार हुनुभन्दा पुनः परदेश नै फर्कन सुरक्षित महसुस गरिरहेको संकेत गर्छ। व्यक्तिगत, मेनपावर, र जीटूजी लगायतका विभिन्न माध्यमबाट यो प्रक्रिया सम्पन्न भएको विभागले जनाएको छ ।
सुधारको प्रयास र ठगीको चुनौती
पछिल्लो समय विभागले श्रम स्वीकृतिको प्रक्रियालाई प्रविधिमैत्री र सहज बनाएको छ । महानिर्देशक मिरा आचार्यको नेतृत्वमा ‘भ्रष्टाचारको इकोसिस्टम’ भत्काउने र श्रमिकको हकहित संरक्षण गर्ने काम भइरहेको दाबी गरिएको छ । अहिले आवश्यक कागजात पुगेको खण्डमा निवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था छ। यद्यपि, ठगीका घटना भने रोकिएका छैनन् ।
चैत महिनामा मात्रै विभागमा २१३ वटा ठगीका उजुरी दर्ता भएका छन्, जसमध्ये ११९ वटामा कारबाही भइसकेको छ भने नियम विपरीत काम गर्ने दुई अभिमुखीकरण तालिम प्रदायकको लाइसेन्स समेत खारेज गरिएको छ ।
राजनीति फेरियो, नियति फेरिएन
मुलुकमा सत्ता समीकरण फेरिएर बालेन शाहको नेतृत्वमा नयाँ सरकार बने पनि वैदेशिक रोजगारीमा जाने युवाको ताँतीमा कुनै कमी आएको छैन । फागुनको निर्वाचन र चैतको नयाँ सरकारले युवाहरूमाझ स्वदेशमै केही हुने आशा जगाउन बाँकी नै रहेको यो तथ्याङ्कले पुष्टि गर्छ ।
दैनिक हजारौँको संख्यामा विमानस्थलबाट बाहिरिने युवा जनशक्तिले देशको अर्थतन्त्रमा रेमिट्यान्स त भित्र्याएको छ, तर उत्पादनशील जनशक्तिको रिक्तता भने कायमै छ ।

















