Logo

४ बैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीको सुरक्षा व्यवस्थालाई थप कडा बनाउन गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको विस्तृत डिजिटल ‘प्रोफाइल’ तयार पारेको छ ।

‘सेफ्टी काठमाडौं’ अभियानअन्तर्गत प्रहरीले अहिलेसम्म १ हजार ९७ जना शंकास्पद व्यक्तिहरूको विवरण संकलन गरी उनीहरूको गतिविधिमाथि सुक्ष्म निगरानी सुरु गरेको हो । यस प्रोफाइलमा गुण्डागर्दीमा संलग्नहरूका साथै लागुऔषध र चोरी जस्ता गम्भीर अपराधका घटनामा पटक–पटक संलग्न भएका व्यक्तिहरूलाई समेत समेटिएको छ ।

प्रहरीले तयार पारेको यस विवरणमा सम्बन्धित व्यक्तिको फोटो, स्थायी ठेगाना, र पेसा मात्र नभई उनीहरूको आपराधिक इतिहास, पारिवारिक पृष्ठभूमि, वैदेशिक भ्रमणको विवरण र उनीहरूको आपराधिक सञ्जाल अर्थात् ‘नेक्सस’ सम्मको सुक्ष्म जानकारी राखिएको छ ।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, सामाजिक सञ्जालमार्फत आफ्नो समूह विस्तार गर्ने र आपराधिक आवरणमा धन्दा चलाउनेहरूलाई लक्षित गरी यो प्रोफाइलिङ गरिएको हो। यस्तो तथ्याङ्कले कुनै पनि आपराधिक घटना हुनासाथ दोषीलाई तत्काल पहिचान गर्न र कानुनी दायरामा ल्याउन मद्दत पुग्ने प्रहरीको विश्वास छ ।

यसै अभियानका क्रममा प्रहरीले हालै १९५ जनालाई नियन्त्रणमा लिएको थियो, जसमध्ये २४ जना प्रत्यक्ष रूपमा गुण्डागर्दी पृष्ठभूमिका देखिएका छन् ।

पक्राउ परेकामध्ये केही धरौटीमा रिहा भए पनि उनीहरू प्रहरीको उच्च निगरानीमा रहेका छन् भने केही अझै हिरासतमा छन् । प्रहरीले काठमाडौंलाई अपराधमुक्त बनाउन प्रविधि र सूचनाको प्रयोग गर्दै अपराधीहरूको सञ्जाल भत्काउने कार्यलाई तीव्रता दिइरहेको छ ।


सम्बन्धित समाचार