४ बैशाख, काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप र यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका २० जना युगाण्डाका महिलाहरूलाई सरकारले नेपालबाट निष्कासन (डिपोर्ट) गरेको छ ।
गत चैत ११ गते ठमेलको फायरचोक क्षेत्रबाट नियन्त्रणमा लिइएका उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाउँदै स्वदेश फिर्ता पठाइएको हो । बाटो हिँड्ने पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा बाधा पुर्याएको र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दुःख दिएको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो ।
पक्राउ परेका ती विदेशी महिलाहरूविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग बुझाइएको थियो । विभागले भिसा उद्देश्यविपरीतका कार्यमा संलग्न रहेको ठहर गर्दै उनीहरूलाई निश्चित अवधिका लागि नेपाल आउन रोक लगाउँदै डिपोर्ट गर्ने निर्णय गरेको हो ।
ठमेल क्षेत्रमा विदेशी नागरिकहरू विशेष गरी युगाण्डाका महिलाहरू यस्ता गैरकानुनी र अनैतिक कार्यमा संलग्न हुने क्रम बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको छ। यसअघि पनि सोही प्रकृतिको घटनामा संलग्न युगाण्डाकै अन्य महिलाहरूलाई पक्राउ गरी डिपोर्ट गरिएको थियो ।
प्रहरीले ठमेल जस्तो संवेदनशील पर्यटकीय क्षेत्रको सुरक्षा र मर्यादा कायम राख्न यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

















