४ वैशाख, (माडी) चितवन । कानूनी प्रावधानको धज्जी उडाउँदै ‘तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ को मञ्चमै राखिएको ‘बाह्रसिङ्गे बियर’ को विशाल डमी अन्ततः हटाइएको छ।
सार्वजनिक स्थलमा मदिराको विज्ञापन गर्न नपाइने स्पष्ट कानून हुँदाहुँदै आयोजकले मञ्चकै अगाडि बियरको डमी राखेर प्रचार गरेपछि उत्पन्न विवाद र प्रशासनको कडा निर्देशनपछि उक्त सामग्री हटाइएको हो।
महोत्सवमा मदिराको खुलेआम प्रचार भएको समाचार रेसखबरमा सार्वजनिक भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले गैरकानूनी रूपमा राखिएको मदीराको प्रचार सामाग्री लगायत डमी तत्काल नहटाए आयोजकलाई कानून अनुसार कडा कारबाही गर्ने चेतावनी दिनुभएको थियो।
प्रजिअको चेतावनी लगत्तै इलाका प्रहरी कार्यालय बसन्तपुरको टोली महोत्सव स्थल पुगेको थियो, जसको दबाबमा आयोजकले बिहीबार राति नै बियरको डमी र अन्य विज्ञापन सामग्री हटाउन बाध्य भएका थिए।
चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले भन्नुभयो, महोत्सवमा मदिराको प्रचार आफैँमा गैरकानूनी विषय हो। हामीले निर्देशन दिएपछि आयोजकले रातारात ती सामग्री हटाएका छन्।
महोत्सवको उद्घाटन सत्रमा मेयर ताराकाजी महतोले आयोजकलाई ‘ढुक्क भएर मेला सफल पार्न’ भन्दै उत्साहित बनाउनुभएको थियो। तर, कानूनी उल्लंघन र आर्थिक अपारदर्शिताको प्रश्न उठेपछि नगरपालिकाकै प्रशासनिक नेतृत्वले भने कानून सम्मत मेला महोत्सव गर्न आयोजकलाई सचेत गराएको छ ।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले महोत्सव विवादित बनेकाले ब्यानरबाट नगरपालिकाको ‘लोगो’ हटाउन र नगरपालिकालाई प्रमुख प्रवर्द्धकका रूपमा प्रचार नगर्न आयोजकलाई निर्देशन दिनुभएको छ।
नगरपालिकाले तोकिएको शुल्क लिएर अनुमति दिने काम हो, प्रमुख प्रशासकिय अधिकृत भुषालले भन्नु भयो “एउटा गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाको लोगो र मुख्य प्रवद्र्धक भनेर राख्न मिल्दैन ।” कला केन्द्रको व्यानरबाट माडी नगरपालिकाको लोगो र नाम हटाउन भनेको छु, भुषालले भन्नु भयो ।
विवादको चौघेरामा परेको महोत्सवलाई माडीका क्रियाशील प्रमुख राजनीतिक दल, उद्योग वाणिज्य संघ र सामाजिक क्षेत्रका अगुवाहरूले समेत खुलेर समर्थन गरेको पाइदैन । उद्घाटन सत्रमै उनीहरूको अनुपस्थितिले खल्लो बनेको महोत्सवमा अहिले दर्शकको उपस्थिति समेत अत्यन्तै न्यून देखिएको छ।
केही आमा समूह र टोल सुधारका प्रतिनिधिहरूलाई मञ्चमा राखेर उद्घाटन गरिए पनि मेलाले अपेक्षित गति लिन सकेको छैन। माडी कला केन्द्रले गैर कानूनी रुपमा द लिड इन्टरटेनमेन्ट एण्ड एडभरटाइजिङलाइ दिएकाे ठेक्का समेत विवादमा परको छ । स्थानीय प्रशासनले माडी कला केन्द्रले निजी कम्पनीलाई दिएको ठेक्का माथि समेत छानवीन गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
स्थानीयबासीका अनुसार, कानूनले निषेध गरेको कुरा जान्दाजान्दै आयोजक माडी कला केन्द्रले स्वार्थका लागि मदिराको विज्ञापन गरिनु गम्भीर लापरवाही हो। प्रशासनको डण्डा र समाचारको दबाबपछि मात्र सच्याउनु भनेको गल्ती स्वीकार्नु हो, एक स्थानीयले भने। माडी कला केन्द्रको नाममा निजी कम्पनीले ठेक्कामा चलाएको यो महोत्सव अहिले विधिको शासन र सुशासनको बहसको केन्द्र बनेको छ।
राजस्व चुहावट, कानूनी उल्लंघन र स्थानीयको बहिष्कारका बीच सञ्चालित यो महोत्सवले माडीको स्थानीय सरकार र आयोजक दुवैको नैतिक जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।




















