५ वैशाख, वीरगञ्ज । नेपाल–भारत सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्यका अत्यन्त सामान्य तथा साना परिमाणका सामानमा समेत भन्सारका नाममा गरिएको कडाइले स्थानीय बासिन्दाहरू मारमा परेका छन् । लायन्स क्लब अफ पोखरियाले यस प्रकारको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले एक विज्ञप्ति जारी गर्दै सीमावर्ती नागरिकहरूले सामान्य व्यक्तिगत प्रयोजनका लागि सय रुपैयाँ बराबरको सामान ल्याउँदा समेत भन्सारमा अनेकौँ झन्झट र हैरानी खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेपाल-भारतको खुला सीमा मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धको समेत आधार भएको उल्लेख गर्दै, यस्ता व्यवहारिकताविहीन नीतिले सर्वसाधारणलाई ‘अघोषित नाकाबन्दी’को अनुभूति गराएको शमानीले दाबी गरेका छन् ।
अध्यक्ष शमानीले यस्ता गतिविधिहरूले दुई देशबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सद्भावमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, “सीमावर्ती बासिन्दाहरूको दैनिक जीवनयापन साना किनमेल र पारिवारिक आवतजावतमा निर्भर छ, यस्तो अवस्थामा राज्यले नागरिकको सहज जीवनयापनलाई बेवास्ता गर्न मिल्दैन।”
क्लबले सम्बन्धित निकायसमक्ष तीन बुँदे माग राख्दै तत्काल समस्या समाधानको आग्रह गरेको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइने थोरै परिमाणका सामानमा हुने अनावश्यक भन्सार कडाइ अन्त्य गर्नुपर्ने, सीमावर्ती नागरिकहरूको जीवनशैली सुहाउँदो जनमैत्री नीति अवलम्बन गर्नुपर्ने र सीमामा कार्यरत कर्मचारीहरूको व्यवहारमा सुधार ल्याई सेवामुखी वातावरण सुनिश्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
राज्यको प्रमुख दायित्व आफ्ना नागरिकलाई सम्मानजनक र सहज जीवनयापन सुनिश्चित गर्नु रहेकाले यस विषयमा तत्काल संवेदनशील बन्न लायन्स क्लब अफ पोखरियाले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।


















