Logo

५ वैशाख,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ले पालिकाभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।

जनकपुरधाम उपमहानगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा द्वारा जारी सूचनामा शैक्षिक तथा प्रशासनिक शुल्क, शैक्षिक सत्र २०८३ का लागि लागू हुने सम्पूर्ण शुल्क विवरण र आवश्यक कागजात सात दिनभित्र बुझाउन निर्देशन दिइएको हो।

नगर शिक्षा समितिको गत चैत ३० गतेको बैठकको निर्णयअनुसार यो निर्देशन जारी गरिएको हो। विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६१ र विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८१ अनुसार स्पष्ट आधार खुलाउनुपर्ने सूचनामा उल्लेख छ।

शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डे का अनुसार कक्षा १ देखि १२ सम्म प्रयोग हुने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची प्रकाशकको नाम र ठेगानासहित पेस गर्नुपर्नेछ।

उनका अनुसार विद्यालयमा हुने अनियमितता नियन्त्रण गर्न, शुल्क व्यवस्थापनमा पारदर्शिता कायम गर्न र शैक्षिक सामग्रीको विवरण स्पष्ट बनाउन यो कदम चालिएको हो। तोकिएको समयभित्र विवरण नबुझाउने विद्यालयलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।


सम्बन्धित समाचार