Logo

५ वैशाख,काठमाडौं । पछिल्ला पाँच वर्षमा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गर्ने दर उल्लेख्य रूपमा बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग का अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४६ वटा मात्र मुद्दा दायर भएकामा आर्थिक वर्ष २०८१/८२ मा त्यो संख्या बढेर १३७ पुगेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपाने ले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला पाँच वर्षमा उजुरीको संख्या १ लाख ६६ हजारभन्दा बढी पुगेको छ। सो अवधिमा ७९८ मुद्दा दायर भई ४ हजार ६६२ जनालाई प्रतिवादी बनाइएको छ भने कुल बिगो दाबी ३१ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको छ।

उजुरीका आधारमा बागमती प्रदेशमा सङ्घीय निकाय र पदाधिकारीसम्बन्धी उजुरी सबैभन्दा धेरै देखिएको आयोगको ३५औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ। दायर मुद्दामध्ये विशेष अदालतबाट करिब ५५ प्रतिशत मुद्दामा कसुर प्रमाणित भएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।

पछिल्ला वर्षहरूमा उच्च राजनीतिक पदाधिकारीदेखि वरिष्ठ कर्मचारीसम्म मुद्दामा तानिएका छन्। पतञ्जली योगपीठ जग्गा साटफेर प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितताको आरोपमा तत्कालीन अर्थमन्त्री रामशरण महत विरुद्ध मुद्दा दायर गरिएको छ।

त्यसैगरी पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमुख्यसचिव वैकुण्ठ अर्याल सहित धेरै सचिव तथा उच्च अधिकारीहरू पनि विभिन्न भ्रष्टाचार प्रकरणमा मुद्दा सामना गरिरहेका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधित कानुनअनुसार भ्रष्टाचार अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरणको संकेत भेटिएमा सो सम्बन्धमा पनि आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था रहेको छ।


सम्बन्धित समाचार
भर्खरै