Logo

६ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्याका कारण २१ दिन अस्पतालमा बिताएका ओली शनिबार साँझ डिस्चार्ज भई भक्तपुरको गुण्डुस्थित आफ्नो निवास फर्किएका छन् ।

अध्यक्ष ओलीलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ‘जेनजी आन्दोलन’ का घटनामा अनुसन्धान गर्ने भन्दै प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। पक्राउ परेको दिन नै स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिएका ओलीमा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पतालमै भर्ना गरिएको थियो। त्यसयता प्रहरीले अस्पतालको शय्यालाई नै हिरासतका रूपमा प्रयोग गरी अनुसन्धान अघि बढाएको थियो ।

कानुनी प्रक्रियाका क्रममा, अध्यक्ष पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै अदालतले चैत २६ गते उनलाई हिरासतमुक्त गर्न परमादेश दिएको थियो। सोही दिन प्रहरीले अस्पतालमै ओलीलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो ।

हिरासतमुक्त भए पनि स्वास्थ्य अवस्थाका कारण उनी अस्पतालमै बसेका थिए । यसअघि नै उनको पित्तथैलीमा पत्थरी देखिएको थियो, जसको शल्यक्रिया चैत ३० गते सफलतापूर्वक सम्पन्न भएको थियो। शल्यक्रियापश्चात् ६ दिनसम्म अस्पतालको निगरानी र उपचारमा रहेका ओली स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।

अध्यक्ष ओली डिस्चार्ज भएसँगै अहिले भक्तपुरस्थित निवासमा स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै