६ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ले मूर्लीचोकदेखि पूर्वतर्फको सडक खण्ड विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ।
महानगरपालिकाले मूर्लीचोकदेखि बाइपास हुँदै नेपाल आयल निगम जाने सडक अन्तर्गत सबाह अन्सारीको घरसम्मको खण्डमा दायाँ–बायाँ ५/५ मिटर गरी कुल १० मिटर क्षेत्र विस्तार गर्ने निर्णय गरेको हो।
यसका लागि महानगरले उक्त सडक क्षेत्रभित्र पर्ने सबै संरचनाहरू २४ घण्टाभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ। प्रमुख प्रशासन तथा व्यवस्थापन महाशाखाद्वारा जारी सूचनामा आयल निगमको क्षेत्रीय कार्यालयदेखि मूर्लीचोकसम्मको सडक विस्तार कार्यलाई तीव्रता दिन यस्तो निर्देशन दिइएको उल्लेख छ।
सडकको केन्द्रबिन्दुबाट दायाँ र बायाँ ५/५ मिटरभित्र पर्ने घरटहरा, पसल लगायतका संरचनाहरू हटाउन स्थानीयलाई आग्रह गरिएको छ।
महानगरका अनुसार यसअघि आयल निगमको कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको सडक विस्तार भइसकेको छ भने बाँकी रहेको खण्ड—सबाह अन्सारीको घरदेखि मूर्लीचोकसम्म—का संरचना हटाउन २०८१ माघ १३ गते नै सूचना जारी गरिएको थियो। विभिन्न कारणले रोकिएको उक्त कामलाई अब प्राथमिकताका साथ अघि बढाइएको महानगरले जनाएको छ।
महाशाखा प्रमुख सुनिलकुमार कर्णका अनुसार तोकिएको समयसीमा (सोमबार दिउँसो ३ बजेसम्म) भित्र संरचना खाली नगरे महानगरले स्वयं हटाउनेछ। त्यसबाट हुने क्षति वा खर्चको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।



















