Logo

चितवन । नेपाली आख्यान साहित्यमा सामाजिक यथार्थवादलाई मिहिन ढंगले प्रस्तुत गर्न सिपालु लेखक बसन्त पराजुलीको नवीनतम उपन्यास “बखान” ले यतिबेला साहित्यिक र सामाजिक वृत्तमा गम्भीर बहस छेडिदिएको छ। चितवनको माटो, थारु संस्कृति र सीमान्तकृत समुदायको कथालाई मुख्य आधार बनाएको यो उपन्यासले विशेषगरी नेपालको सहकारी आन्दोलनका प्रणेता बखानसिंह गुरुङ र उनले थालेको सामाजिक-राजनीतिक जागरणलाई मुख्य कथानक बनाएको छ।

लामो समयदेखि पत्रकारिताको अग्रपङ्क्तिमा रहेर समाजका सूक्ष्म मुद्दाहरूलाई कलमबद्ध गर्दै आउनुभएका वसन्त पराजुलीले आफूलाई एक परिपक्व साहित्यकारका रूपमा समेत स्थापित गर्नुभएको छ। आख्यान विधामा विशेष दख्खल राख्ने पराजुलीको रुचि विशेषगरी सामाजिक यथार्थवादमा देखिन्छ। यसअघि उनका “कुमाता” (२०७६) र “मोम्चो” (२०७८) जस्ता सशक्त कथासंग्रहहरू प्रकाशित भइसकेका छन्। यसै सन्दर्भमा उनको उपन्यास “बखान” (२०८२) ले नेपाली आख्यान जगतमा ऐतिहासिक यथार्थवादको नयाँ र गहकिलो इँटा थपेको छ।

उपन्यासकार पराजुलीले यस कृतिमा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रखर योद्धा बखानसिंह गुरुङलाई नायक बनाएर उनको बहुआयामिक व्यक्तित्व र तत्कालीन समयको चितवनलाई दुरुस्त उतार्नुभएको छ। तनहुँको पुलीमराङमा जन्मेर चितवनलाई कर्मथलो बनाएका बखानसिंहले आफ्नो पूरा जीवन देश, समाज र प्रजातन्त्रका लागि कसरी समर्पण गरे भन्ने विषय नै उपन्यासको केन्द्रीय कथानक हो।

बखान शीर्षकले एकातिर मुख्य पात्र बखानसिंह गुरुङको जीवनगाथालाई बुझाउँछ भने अर्कोतर्फ वि.सं. २००७ देखि २०४० को दशकसम्मको चितवनको भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको विस्तृत बखान गर्दछ। यो उपन्यास केवल एउटा जीवनी मात्र नभई चितवनको बस्ती विकास, गुरुङ र थारु जातिको संस्कृति, चितवनको प्राकृतिक अवस्था तथा २०१८ सालको राजनीतिक विद्रोह जस्ता ऐतिहासिक सन्दर्भहरूको जीवन्त संग्रह पनि हो।

उपन्यासमा बखानसिंहको त्यो साहसलाई मुख्य आधार बनाइएको छ, जहाँ उनले सेनाको जागिर छोडेर प्रजातन्त्रका लागि क्रान्तिमा होमिए। यस क्रममा उनले आफ्नो सर्वस्व हरण भएको भोगे र लामो समय निर्वासित जीवन बिताए। एउटा सहिद पिताका रूपमा आफ्ना दुई छोराहरू धर्मध्वज र लालध्वजलाई प्रजातान्त्रिक क्रान्तिमा गुमाउनु पर्दाको पीडा र देशप्रतिको त्यागलाई पराजुलीले निकै मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ।

सहकारी आन्दोलन र जनजीवनको चित्रण

उपन्यासले बखानसिंह गुरुङको राजनीतिक पाटोलाई मात्र होइन, उनको सामाजिक योगदानलाई पनि विशेष स्थान दिएको छ। तत्कालीन समयमा समाजमा व्याप्त साहु महाजनको मिटरब्याजी ऋण र शोषणको जालोलाई तोड्न उनले वि।सं। २०१३ सालमा स्थापना गरेको  बखान ऋण सहकारी संस्थाको जग र त्यसले विजारोपण गरेको सहकार्यको भावनालाई उपन्यासले मुख्य आधार बनाएको छ। नेपालको यो पहिलो सहकारीले कसरी किसानहरूमा आर्थिक जागरण र स्वावलम्बन ल्यायो भन्ने कुरा उपन्यासमा रोचक ढंगले प्रस्तुत छ।

लेखक पराजुलीले बखानसिंह गुरुङलाई केवल एउटा ऐतिहासिक पात्रका रूपमा मात्र होइन, बरु सामाजिक र राजनीतिक जागरणका एक दुरदर्शी नायकका रूपमा प्रस्तुत गरेका छन्। साहु महाजनको अन्यायपूर्ण मिटरब्याजी प्रथाविरुद्ध किसानहरूलाई संगठित गर्नु र हाम्रो पैसा हामी नै चलाउँछौँ भन्ने सहकार्यको भावना विजारोपण गर्नु आफैँमा एउटा ठूलो क्रान्ति थियो। उपन्यासले त्यही सहकार्यको भावनाले कसरी एउटा समुदायको आर्थिक र सामाजिक हैसियत बदल्न सक्छ भन्ने सन्देश प्रवाह गरेको छ।

बखान लाई एउटा ऐतिहासिक दस्ताबेजका रूपमा व्याख्या गरिरहँदा यसमा समेटिएको राजनीतिक चेतनाको पाटो पनि उत्तिकै सशक्त छ। राप्ती दून विकास परियोजनाअन्तर्गत बसोबास गर्न आएका मानिसहरूको संघर्ष, भूमिपुत्र थारुहरूको आफ्नै कथा र बखानसिंहले नेतृत्व गरेको त्यो सामूहिकताको आन्दोलनले नै वर्तमान नेपालको सहकारी र लोकतान्त्रिक अभ्यासको आधार खडा गरेको कुरालाई लेखकले आख्यानमार्फत पुष्टि गरेका छन्।

यो उपन्यासमा केही काल्पनिक र औपन्यासिक रंग भरिए पनि यसमा उल्लेख गरिएका पात्र र घटनाहरू सत्यतथ्यमा आधारित छन्। उपन्यासमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेको घटना, दलमाथि प्रतिबन्ध लगाइएपछिको राजनीतिक वातावरण र जनमत संग्रहपछिको वैचारिक विचलनलाई समेत यथार्थपरक ढङ्गले चित्रण गरिएको छ।

परिवेशका दृष्टिले यो उपन्यास चितवनमा केन्द्रित रहेकाले यसले सशक्त आञ्चलिक स्वरूप प्राप्त गरेको छ। थारु र गुरुङ संस्कृतिको गहिरो चित्रणका साथै नेवार र अन्य जातिको जनजीवनलाई पनि यसमा स्थान दिइएको छ। पत्रकारिताको लामो अनुभव भएका लेखक पराजुलीले भाषालाई अत्यन्त सरल, बोधगम्य र प्रवाहमय बनाउनुभएको छ, जसले गर्दा यो कृति सबै तहका पाठकका लागि उत्तिकै रोचक र ज्ञानवर्धक बनेको छ।

समग्रमा, वसन्त पराजुलीको बखान उपन्यास एउटा ऐतिहासिक दस्ताबेज हो। यसले जागिर, सुख र छोराहरूसमेत गुमाएर प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेका एक महान् योद्धाको जीवनका आरोह(अवरोह मात्र देखाउँदैन, बरु नेपालको सहकारी आन्दोलन र चितवनको रूपान्तरणको कथालाई समेत जीवन्त राख्ने काम गरेको छ। विषयगत गहनता र सरल शैलीका कारण यो उपन्यास नेपाली साहित्यको एक विशिष्ट कृतिका रूपमा रहने निश्चित छ।

साहित्यकार पराजुलीको यो योगदानले मोफसलको साहित्यलाई राष्ट्रिय मूलधारमा मात्र स्थापित गरेको छैन, बरु बिर्सिँदै गएको नेपालको पहिलो सहकारीको इतिहास र बखानसिंह गुरुङको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने काम गरेको छ। साहु महाजनको शोषणविरुद्धको त्यो गौरवपूर्ण इतिहास र सहकार्यको भावनालाई सजीव बनाउन सफल बखान उपन्यासले नेपाली आख्यान क्षेत्रमा एक विशिष्ट मानक तय गरेको छ। यसले समाजमा व्याप्त अझै पनि जीवित रहेका मिटरब्याजी समस्या र आर्थिक असमानतालाई चिर्न सहकार्य र सामूहिकता नै एक मात्र विकल्प हो भन्ने सत्यलाई पुनः स्थापित गरिदिएको छ।


सम्बन्धित समाचार
भर्खरै