Logo

११ वैशाख,काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि प्रभावित बस्तीका बासिन्दाहरू राजनीतिक दलको कार्यालयतर्फ जाने तयारीमा जुटेका छन्।

नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूले आफूहरूलाई हटाउने निर्णय रोक्न दबाब दिनका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयतर्फ जान लागेको जनाइएको छ।

सूचना पाएपछि पार्टी कार्यालय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बालाजु वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यसअघि शुक्रबार बिहानैदेखि थापाथली क्षेत्रमा सुकुमबासीहरूले सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेका थिए। शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रका नदी किनारका बस्ती हटाउने गरी स्थानीय प्रशासनले तयारी अघि बढाएको छ। त्यस क्षेत्रका बासिन्दालाई हटाउन प्रशासनले माइकिङसमेत गरिरहेको छ।

यसैबीच, सुकुमबासी मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाइरहेका बेला सुकुमबासी बस्तीमा तनाव बढ्दै गएको देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै