१२ वैशाख,काठमाडौं । मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावका कारण ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार वैदेशिक रोजगारी तथा अन्य कामका लागि मध्यपूर्व गएका नेपालीहरू हालको असहज परिस्थितिका कारण तथा बिदामा घर फर्किएका हुन्।
मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार फर्किएकामध्ये करिब २१ हजार नेपाली मात्र कतारबाटै स्वदेश आएका छन्। अन्य देशहरूबाट पनि उल्लेख्य संख्यामा नेपाली फर्किएको बताइएको छ।
यसैबीच, परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८१९ जना नेपालीले आफ्नो अवस्थाबारे विवरण दर्ता गराएका छन्। यसले संकटग्रस्त क्षेत्रमा रहेका नेपालीको यथार्थ अवस्थाबारे जानकारी संकलन गर्न सहयोग पुगेको मन्त्रालयले जनाएको छ।
इरानको हर्मुज क्षेत्र आसपास पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक सहजीकरणका लागि मन्त्रालयले आपतकालीन प्रतिकार्य समूहमार्फत निरन्तर काम गरिरहेको छ।
मन्त्रालयले विदेशमा रहेका नेपालीलाई सतर्क रहन, स्थानीय दूतावाससँग सम्पर्कमा रहन र आवश्यक परेमा दर्ता प्रणालीमार्फत आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

















