१२ वैशाख,काठमाडौं । अमेरिका र इजरायलको आक्रमणपछि करिब दुई महिनासम्म अवरुद्ध रहेको इरानको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको अवधि थप गरेको घोषणा गरेसँगै शनिबारदेखि इरानबाट अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु भएका हुन्।
बीबीसीका अनुसार राजधानी तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि विभिन्न अन्तर्राष्ट्रिय उडान सञ्चालन भएका छन्। इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै प्रकाशित समाचारमा पश्चिम एसियाका विभिन्न सहरहरूमा उडान भएको उल्लेख गरिएको छ। तेहरानबाट साउदी अरेबियाको मदिना, ओमानको मस्कट र टर्कीको इस्तानबुललगायत गन्तव्यमा उडान गरिएको जनाइएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि देशभरको हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसयता तेहरानका लागि अन्तर्राष्ट्रिय उडानहरू ५६ दिनसम्म निलम्बित अवस्थामा रहेका थिए।
अप्रिल ८ मा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो क्रममा इस्लामावादमा दुवै पक्षबीच शान्तिवार्ता पनि भएको थियो, तर वार्ता निष्कर्षमा पुग्न सकेन।
उक्त युद्धविराम अप्रिल २१ मा समाप्त भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसको अवधि थप गर्ने घोषणा गरेका छन्।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघची हाल पाकिस्तान भ्रमणमा रहेका छन् भने अमेरिकी प्रतिनिधिमण्डल पनि त्यहाँ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, आगामी चरणको शान्तिवार्ता कहिले हुने भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट निर्णय भएको छैन।


















