Logo

१३ बैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक सार्वजनिक कार्यक्रममा गोली चलेपछि कार्यक्रमस्थलमा व्यापक तनाव सिर्जना भएको छ । पत्रकारहरूका लागि आयोजना गरिएको उक्त कार्यक्रममा अचानक गोलीको आवाज सुनिएपछि सुरक्षा अधिकारीहरूले राष्ट्रपति ट्रम्प र प्रथम महिलालाई तत्कालै स्टेजबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र एएफपीका अनुसार, गोलीको आवाज आउनासाथ ‘सेक्रेट सर्भिस’ र ‘काउन्टर असल्ट टिम’ (सीएटी) का हतियारधारी सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई घेरेका थिए । ट्रम्प दम्पतीलाई सुरक्षित स्थानतर्फ लगिएपछि स्वचालित हतियार बोकेका सुरक्षाकर्मीहरूले हलको पछाडितर्फ बन्दुक तेर्स्याएर सम्भावित आक्रमणको प्रतिकार गरेका थिए ।

त्यसको केही बेरमै सुरक्षाकर्मीहरूले अर्का एक विशिष्ट अतिथिलाई पनि हतारहतार सुरक्षित स्थानतर्फ लगेका थिए ।

गोली चलेपछि हलभित्र रहेका पत्रकार र सहभागीहरूबीच भागदौड मच्चिएको थियो। सहभागीहरू ज्यान जोगाउन कुर्सीमुनि लुकेका थिए भने केही भुइँमा घोप्टो परेका देखिएका थिए। सुरक्षाकर्मीहरू खाली कुर्सी र टेबल नाघ्दै संदिग्ध व्यक्तिको खोजीमा जुटेका थिए ।

सुरक्षा स्रोतका अनुसार, गोली चलाउने संदिग्ध व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिइएको छ । यद्यपि, ती व्यक्तिको परिचय र गोली चलाउनुको उद्देश्यबारे हालसम्म केही खुलाइएको छैन। घटनामा भएको क्षति वा घाइतेहरूको विवरण समेत आउन बाँकी छ ।

अकल्पनीय घटनाका कारण केही समय विथोलिएको कार्यक्रम सुरक्षाको पूर्ण प्रत्याभूतिपछि पुनः सुचारु भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिमाथि भएको यस सम्भावित आक्रमणको प्रयासलाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको छ। ह्वाइट हाउसले यसबारे थप आधिकारिक जानकारी केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार