१४ बैशाख, चितवन । चितवनका सरकारी तथा निजी अस्पतालहरूमा देखिएका बेथितिविरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकहरूसँगको विशेष बैठकमा स्वास्थ्य सेवाको गुणस्तर र चिकित्सकहरूको मानवीय व्यवहारमा तत्काल सुधार गर्न ठाडो निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयले संयुक्त रूपमा आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्य सेवा विषयक परामर्श’ कार्यक्रममा प्रजिअ अर्यालले अस्पतालहरूले कमाउने ध्याउन्नमा बिरामीको संवेदनशीलता बिर्सिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
प्रजिअ अर्यालले स्वास्थ्य संस्थामा बिरामीप्रतिको व्यवहार, अस्पतालजन्य फोहोर व्यवस्थापन, र एम्बुलेन्स चालकले बिरामी ल्याएबापत कमिसन लिनेजस्ता अनैतिक अभ्यासलाई गम्भीरताका साथ उठाए । उनले अस्पतालहरूले बीमा र नगदका बिरामीबीच गरिने विभेद, अनावश्यक स्वास्थ्य परीक्षणको भारी, र विपन्न तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने छुट नदिएको भन्दै ती कार्य तत्काल रोक्न निर्देशन दिए । “बिरामीको मृत्यु हुँदा चिकित्सकले आँसु झार्नु पर्दैन, तर उनीहरू संवेदनशील हुनै पर्छ,” उनले भने । साथै, उनले अस्पतालको टोकन प्रणाली, कर्मचारीको सुविधा, र आन्तरिक एवं बाह्य रिफरल प्रणालीलाई विधिभित्र रहेर व्यवस्थित गर्न कडा ताकेता गरे ।
सो कार्यक्रममा अस्पतालका प्रतिनिधिहरूले पनि आआफ्ना चुनौतीहरू प्रस्तुत गरे। भरतपुर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेले अस्पतालमा बहिरङ्ग सेवामा हाल व्यापक सुधार भएको र बिरामीको चाप व्यवस्थापनमा ध्यान दिइएको बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले संस्थाले धेरै सुधार गरिसकेको भन्दै राज्यले दिनुपर्ने विपन्न र बीमाको भुक्तानी समयमा नपाउँदा सेवा प्रवाहमा जटिलता थपिएको तर्क गरे ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनले तोकेको मापदण्डअनुसार स्वास्थ्य संस्थाहरू सञ्चालन हुन नसकेको औँल्याए भने निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्यमा गरेको अर्बौंको लगानीलाई राज्यले सम्बोधन गर्न नसकेको दुःखेसो पोखे । यसरी सरोकारवालाहरूले आआफ्ना गुनासा र समस्या राखेपछि प्रजिअ अर्यालले चिकित्सक र अस्पतालको शैलीमा आमूल परिवर्तन नआएसम्म नागरिकले स्वास्थ्य सेवामा राहत महसुस गर्न नसक्ने भन्दै सुधारका लागि सचेत गराएका छन् ।


















