Logo

१३ वैशाख,काठमाडौं। नेपालीलाई सहयोग गर्नुपर्ने माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतलाई माग पत्र हस्तान्तरण गर्नुभएको हो ।

मागपत्रमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीलाई उच्च प्राथमिकता दिन उहाँको आग्रह छ ।

त्यसका लागि संघीय र प्रदेश सरकाले विकास बजेटको १ प्रतिशत रकम छुटयाएर “अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष“ बनाउनुपर्ने उहाँको धारणा छ । कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने उल्लेख छ । कोषमा जम्मा भएको रकम सोहि बर्ष खर्च नभएमा आगामी बर्षहरुमा पनि खर्च गर्न पाउनेगरि व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै “अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन“ बनाउन उहाँको माग छ ।

नयाँ आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरुलाई उत्पादन गरि नव–उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने उहाँको तेस्रो माग छ । निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा

व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवद्र्धन गर्न विज्ञान मन्त्रालय अन्तर्गत “व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग“ स्थापना गर्न उहाँले सुझाव दिनुभएको छ ।

विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याएर उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकार सहितको जिम्मेवारी दिनुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री सहित विभिन्न मन्त्री र सरकारी अधिकारीलाई हिजो भेटेपछि अध्यक्ष पुनले सामाजिक सञ्जाल फेसबुकमा बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म भेटघाटको क्रममा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सुरु हुने आन्दोलनको मागपत्र हस्तान्तरण गरिएको उल्लेख गर्नुभएको हो । साथै उहाँले आज आन्दोलनको अन्य कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा समेत गर्नुभएको छ ।


सम्बन्धित समाचार