Logo

१४ वैशाख, विराटनगर । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा भएको आगजनीबाट नष्ट भएका विचाराधीन मुद्दाका अधिकांश मिसिल संकलन गरिएको भए पनि ५० वटा अझै फेला परेका छैनन्।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीका बेला अदालतमा रहेका १ हजार ४१ विचाराधीन मुद्दाका मिसिल जलेका थिए। तीमध्ये विभिन्न निकायको सहयोगमा हालसम्म ९ सय ९१ मिसिल संकलन भइसकेका छन्।

अदालतका आफ्नै अभिलेख नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिल कार्यालय तथा अन्य सरोकारवाला निकायको सहयोगमा मिसिल पुनः संकलन गरिएको हो। यद्यपि, ५० वटा मुद्दाका मिसिल अझै प्राप्त हुन सकेका छैनन्।

यसैबीच, भदौ २४ सम्म फैसला भइसके पनि लेखन बाँकी रहेका ७८ मिसिलमध्ये ७५ वटा भेटिएको छ भने ३ वटा अझै हराइरहेका छन्।

अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार मिसिल आगलागीमा नष्ट भएका थिए, जसबाट हालसम्म २ हजार ५ सय ४८ मिसिल मात्र पुनः संकलन गर्न सकिएको छ।

त्यस्तै, फैसला कार्यान्वयन गर्ने तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिलमध्ये १ हजार ३ सय ५९ मिसिल संकलन गरिएको छ भने ३ सय ४१ अझै संकलन हुन बाँकी छ।

आगजनीका कारण अदालतका जिन्सी किताब, लगत किताब लगायत महत्वपूर्ण अभिलेख पूर्णरूपमा नष्ट भएको जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै