१६ वैशाख,काठमाडौं । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्तका प्रवक्ता थमीन अल खितानले इजरायललाई गाजा पट्टीमा मानवीय सहायता प्रवेशमा लगाइएका प्रतिबन्धहरू हटाउन आग्रह गरेका छन्।
जेनेभामा आयोजित साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गाजामा आधारभूत जीवनयापनका लागि आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने बताएका हुन्।
प्रवक्ता अल खितानका अनुसार इजरायलले गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न तथा मानवीय सहायता प्रवेश र वितरणमा लगाइएका सबै अवरोध हटाएर सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको छ।
लामो समयदेखि जारी द्वन्द्वका कारण गाजामा स्वच्छ पिउने पानी, खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्रीको गम्भीर अभाव भएको उनले उल्लेख गरे। उनले वर्तमान अवस्था अत्यन्त संवेदनशील र गम्भीर रहेको चेतावनी पनि दिएका छन्।
सन् २०२५ अक्टोबरदेखि युद्धविराम घोषणा भए पनि गाजा पट्टीमा कडा नाकाबन्दी जारी रहेको तथा दैनिक आक्रमणका कारण हजारौं सर्वसाधारण प्रभावित र हताहत भइरहेका छन्।
संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्दै गाजामा सहायता सहज रूपमा पुग्ने वातावरण बनाउन पुनः आग्रह गरेको छ।