Logo

१६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियालाई विधिगत र पारदर्शी बनाउन नयाँ अभ्यास सुरु गर्ने भएको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन वा प्रतिबद्धता नदिन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कडा निर्देशन दिनुभएको छ । पार्टीभित्र टिकट वितरणमा हुन सक्ने चलखेल र व्यक्तिगत प्रभावलाई रोक्न सभापति लामिछानेले यस्तो कठोर अडान लिनुभएको हो ।

निर्वाचनमा उपयुक्त र सक्षम उम्मेदवारको खोजी गर्न रास्वपाले आगामी वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ, जसको संयोजनको जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई सुम्पिएको छ ।

प्रवक्ता मनिष झाका अनुसार यो क्लबमार्फत उम्मेदवारहरूको प्रारम्भिक पहिचान र निर्वाचन पूर्वको आवश्यक प्रशिक्षण दिइनेछ । यदि कसैले विधान मिचेर टिकटको प्रलोभन देखाएको वा गलत अभ्यास गरेको भेटिएमा उनीहरूलाई पार्टीले कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिइएको छ । यो कदमले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै योग्यतामा आधारित उम्मेदवार छनोट प्रणालीलाई संस्थागत गर्ने लक्ष्य राखेको देखिन्छ ।


सम्बन्धित समाचार