Logo

१६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले आफ्ना सांसदहरूलाई संसदीय मर्यादा र जनताप्रतिको उत्तरदायित्व सम्झाउँदै १२ बुँदे विशेष निर्देशन दिनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले रास्वपा ‘मालिक बन्न खोज्नेहरूका लागि नभई सेवक र सहजकर्ताहरूको दल’ भएको स्पष्ट पार्नुभयो । उहाँले सत्ता फेरिएसँगै अब सार्वजनिक सेवा र राजनीतिक संस्कार फेर्नु नै पार्टीको मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

सांसदहरूको भूमिका र सरकारको कार्यशैलीका बारेमा स्पष्ट पार्दै लामिछानेले कानुन बनाउने मुख्य जिम्मेवारी भए पनि सांसदहरू आफैँ कानुन बन्न खोज्न नहुने चेतावनी दिनुभयो ।

पछिल्लो समय चर्चामा रहेको सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा उहाँले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने तर नागरिकलाई ढल र बाढीको जोखिममा राखेर ‘भोट बैंक’ को राजनीति गर्ने प्रवृत्तिको अन्त्य गरिने बताउनुभयो । सुकुम्बासी समस्या समाधानका लागि विशेष आयोग बनाएर शीघ्र काम गरिने र सुरक्षित बासस्थानको ग्यारेन्टी गरिने उहाँको प्रतिबद्धता छ ।

सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्दै सभापति लामिछानेले विगतमा जस्तो दल फुटाउन वा विपक्षीलाई दुःख दिन नभई आवश्यक सुधार र जनअपेक्षा पूरा गर्न अध्यादेश ल्याइएको दाबी गर्नुभयो । संवैधानिक निकायहरू रिक्त हुँदा कार्यसम्पादनमा कठिनाइ भएको उल्लेख गर्दै उहाँले अब ‘नम्र राजनीतिक आक्रामकता’ देखाउनुपर्ने बेला आएको बताउनुभयो ।

साथै, पार्टीमा अवसर खोज्नेहरूले पहिले संगठनमा खटेर आफूलाई प्रमाणित गर्नुपर्ने उहाँको निर्देशन छ । खाडी द्वन्द्वले बजार मूल्यमा पारेको असरप्रति सरकार गम्भीर रहेको र सामाजिक विभेद अन्त्यका लागि सांसदहरूले घटनास्थलमा पुग्दा भावुक नभई मर्यादित भएर काम गर्नुपर्ने उहाँको सुझाव छ ।

रविको १२ बुँदे निर्देशन

१)  सांसद र मन्त्री बीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ।

२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो।

३) “मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र सहजकर्ताहरूको लागि हो।”

४) हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासो वारे हुदै गरेको काम कारवाही वारे अवस्था ट्रयाक गर्न मिल्ने हुने गरि काम हुँदैछ।

५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो। तर त्यो क्रममा आफै कानून बन्न खोज्ने हैन।

६) अन्तर्जातीय विवाहको बहानामा समाजमा हुदै आएको विभेद र दुर्घटना रोक्न आवश्यक छ, यसको लागि पहल गर्न निर्देशन। तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन।

७) खाडी द्वन्द्वले बजार मुल्यमा परेको असर वारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीर हुदै काम गर्दैछौ।

८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपुर्वक लाग्न सबैलाई अनुरोध छ।

९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो।

देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन। सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ। तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर “भोट बैंक” को राजनीति गर्नु गलत हो।

१०) अध्यादेशको वारेमा: बिगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दु:ख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।

कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदिय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौँ, ईमानदार भएर बढ्यौ।

११) कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।

१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असम्जस वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधैँ उपलब्ध छु। सधैँ बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।


सम्बन्धित समाचार