Logo

१७ बैशाख, काठमाडौँ । सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने गरी कडा अध्यादेश सिफारिस गरेसँगै मुलुकको जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयका तीन शीर्ष पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले बिहीबार प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।
सरकारले एकै झट्कामा १२०० भन्दा बढी राजनीतिक नियुक्ति खारेज गर्ने तयारीका साथ अध्यादेश अघि बढाएपछि पदमा बसिरहनु नैतिक रूपमा उचित नठानेर आफूहरूले मार्गप्रशस्त गरेको रेक्टर केसीले जानकारी दिएका छन ।

राजीनामा दिने यी पदाधिकारीहरू अघिल्ला सरकारहरूको पालामा नियुक्त भएका थिए । उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका हुन् भने रेक्टर केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ुप्रचण्डु को कार्यकालमा नियुक्त भएका थिए ।

बालेन नेतृत्वको वर्तमान सरकारले विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएर दलीय भागबन्डाका आधारमा भएका नियुक्तिहरूमा ‘सफाइ अभियान’ चलाउन खोजेपछि त्रिविको नेतृत्व तहमा यो हलचल आएको हो । यससँगै त्रिविमा अब नयाँ नियुक्ति प्रक्रिया मेरिटोक्रेसी वा योग्यताका आधारमा हुने सरकारको लक्ष्य रहेको देखिन्छ ।


सम्बन्धित समाचार