Logo

१८ बैशाख, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्यु प्रकरणमा जिल्ला अदालतले १४ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। घटनाको १३ महिना १० दिनपछि मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले बलात्कारमा संलग्न, घटना लुकाउने सहयोगी र दोषीलाई जोगाउन पञ्चायती गर्नेहरूलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।

२०८१ माघ २७ गते राति शौच गर्न निस्केकी रिंकुमाथि भएको सामूहिक बलात्कारको घटनालाई स्थानीय जनप्रतिनिधि र भद्रभलादमीले प्रहरीमा पुग्न दिएनन्। वडासदस्य नथुनी साहको अगुवाइमा बसेको ‘पञ्चायती’ ले दोषीहरूलाई जरिवाना गराई घटना सामसुम पार्ने दुस्साहस गरेको थियो। वडासदस्य साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका व्यक्तिहरूले रु एक लाख ५१ हजार जरिवाना तोकेर जघन्य अपराधलाई ‘मिलापत्र’ गराउन खोजेका थिए।

अदालतले जनप्रतिनिधिको ओहदामा रहेर अपराधलाई प्रश्रय दिने वडासदस्य साहलाई थप ६ महिनासहित १४ महिना कैद र अन्य मतियारहरूलाई आठ महिना कैद तथा सात हजार जरिवानाको सजाय सुनाएको छ। अदालतले आफ्नो फैसलामा जनप्रतिनिधिले कानुनको संरक्षण गर्नुपर्नेमा उल्टै अपराधलाई प्रश्रय दिएको भन्दै कडा टिप्पणी गरेको छ।

जरिवाना रकम बाँडफाँटमा विवाद भएपछि माघ ३० गते रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिनु र त्यसअघि नै गाउँमा ‘मिलापत्र’ को नाटक मञ्चन हुनुले घटनालाई थप शङ्कास्पद बनाएको थियो।

न्याय निरूपणका क्रममा अदालतले पीडितको हकवालालाई प्रतिवादीहरूबाट जनही रु ३५ हजार क्षतिपूर्ति भराउनुका साथै थप क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने आदेश दिएको छ। घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई समेत दोषी ठहर गरिएको छ।

यो फैसलाले समाजमा जरा गाडेको ‘पञ्चायती प्रथा’ र अपराधलाई गाउँमै लुकाउने प्रवृत्तिविरुद्ध कडा सन्देश दिएको छ। कानुन हातमा लिई पीडितलाई न्यायबाट वञ्चित गराउने जनप्रतिनिधि र मतियारहरूलाई भएको यो सजायलाई कतिपयले ढिलो भए पनि पीडित परिवारले न्यायको अनुभूति गरेको रूपमा हेरेका छन्। अधिकारकर्मीहरूले यो मुद्दालाई समाजमा हुने यस्ता विभत्स अपराध र न्यायमा गरिने खेलबाडको विरुद्धमा एउटा ‘नजीर’ का रूपमा लिएका छन्।


सम्बन्धित समाचार
भर्खरै