१९ वैशाख,वीरगञ्ज । लेखक दिवसको अवसरमा नेपाली लेखक सङ्घ पर्सा शाखा ले कथाकार विनयराज गौतम को नयाँ कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ सार्वजनिक गरेको छ।
कार्यक्रम बीपीसी कलेज को ट्रेनिङ हलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार माधवप्रसाद गौतम उपस्थित थिए भने अध्यक्षता सङ्घकी उपाध्यक्ष उमा मिश्रले गरेकी थिइन्।
त्यस्तै विशिष्ट अतिथिका रूपमा मधेश विश्वविद्यालय का उपकुलपति दीपक शाक्य, वरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य तथा समीक्षक गोपाल अश्क र नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विश्वम्भरकुमार शर्मा सहभागी थिए।
कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि अतिथिहरूले संयुक्त रूपमा कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ को लोकार्पण गरेका थिए।
लेखक गौतमले कार्यक्रममा आफ्नो साहित्यिक यात्रा, कथासङ्ग्रहको पृष्ठभूमि तथा कृतिका विशेष पक्षबारे चर्चा गरेका थिए। सहभागी वक्ताहरूले कृतिले नेपाली कथासाहित्यमा नयाँ विमर्श थप्ने विश्वास व्यक्त गर्दै लेखकलाई सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य प्रमोद पाण्डेय ‘हेरम्ब’ले राखेका थिए भने सञ्चालन सीता शर्मा पन्थीले गरेकी थिइन्।




















