१९ वैशाख,काठमाडौं । उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने सरकारी अभियानको विरोधमा प्रदर्शन गरिएको छ। शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित सरकारको कदमविरुद्ध आवाज उठाएका थिए। उनीहरूले “सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको?”, “बरु बाढीबाट बचियो तर सरकारबाट बच्न सकिएन”, “खोइ मानवता डोजरले पुर्यो” लगायतका नारा लगाएका थिए।
शनिबार बिहानै बालाजु, स्वयम्भू लगायतका क्षेत्रमा नदी आसपासका बस्तीहरूमा डोजर चलाइएको थियो। त्यसक्रममा बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालय क्षेत्रमा समेत संरचना हटाइएको जनाइएको छ।
यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाट लगायतका क्षेत्रमा रहेका सुकुमवासी बस्तीका घर तथा टहराहरू भत्काइएको थियो।
सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौंका नदी किनार तथा अतिक्रमित क्षेत्रहरू खाली गराउने अभियान अघि बढाएको हो। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँ आसपासका संरचना हटाइसकिएको थियो।

















