१९ वैशाख,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
शनिबार काठमाडौंमा भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार भेटमा नेपालको हालको राजनीतिक परिवर्तन र सरकारले अघि सारेका सुधारका प्रयासबारे समेत चर्चा भएको थियो। उनले लेखेका छन्, “नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि जनताले दिएको जनादेश उल्लेखनीय छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्।”
गोर बिहीबार साँझ काठमाडौं आएका थिए। उनले यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

















