१९ वैशाख,काठमाडौं । भारतका चर्चित राजनीतिज्ञ राघव चड्ढाको राजनीतिक निर्णयलाई लिएर नयाँ विवाद सतहमा आएको छ। हाल संसददेखि सडकसम्म उनको नाम चर्चामा रहँदा उनी आम आदमी पार्टी (आप) छोडेर भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेको विषयले ठूलो हलचल मच्चाएको छ।
यसैबीच, नवजोत सिंह सिद्धूकी श्रीमती नवजोत कौर सिद्धूले टप सिक्रेट पोडकास्टमा दिएको अभिव्यक्तिले थप चर्चा बटुलेको छ। उनले राघव चड्ढाको भाजपामा प्रवेशको पछाडि अभिनेत्री प्रियंका चोपडाको भूमिका रहेको दाबी गरेकी छन्।
उनका अनुसार, प्रियंका चोपडालाई राघव चड्ढामाथि अनुसन्धान हुन सक्ने सम्भावनाबारे थाहा थियो र त्यसैले उनले अप्रत्यक्ष रूपमा उनलाई सहयोग गरेको दाबी गरिएको छ। साथै, उनले राघव चड्ढा र आपबीच सम्बन्ध बिग्रिँदै गएको कारण पनि यही राजनीतिक दबाब भएको हुनसक्ने बताएकी छन्।
नवजोत कौर सिद्धूले यो पनि दाबी गरेकी छन् कि राघव चड्ढाले समयमै आफ्नो धारणा सार्वजनिक नगरेको र लामो समय मौन बसेको कारण पार्टीभित्र दूरी बढेको हो।
यता, राघव चड्ढा, प्रियंका चोपडा तथा परिणीति चोपडाले भने यी दाबीबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
भाजपामा प्रवेश गरेको केही समयमै राघव चड्ढाले सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोअर्स गुमाएको बताइएको छ। उनको राजनीतिक कदमप्रति विभिन्न सेलिब्रेटीहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन्।
राघव चड्ढाको दल परिवर्तनले भारतीय राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।


















