Logo

१९ वैशाख,काठमाडौं । नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा अनधिकृत रूपमा बनेका संरचना हटाउने क्रममा रोकिएको डोजरले फेरि काम अघि बढाएको छ।

यसअघि करिब १० देखि १२ घरधुरीले आफ्नो वैध लालपूर्जा रहेको दाबी गरेपछि भत्काउने कार्य केही समयका लागि रोकिएको थियो। तर छानबिनपछि ती संरचना मापदण्डविपरीत रहेको निष्कर्ष निकालिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय का प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, छानबिनका लागि खटिएको सरकारी टोलीले उक्त क्षेत्रका घरहरू नदी किनारमै जग हालेर निर्माण गरिएको पाएको हो।

‘नदी किनारबाटै जग उठाएर घर बनाएको निष्कर्ष टोलीले दिएको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यसअनुसार अहिले डोजर सञ्चालन गरेर हटाउने काम पुनः सुरु गरिएको छ।’

उनका अनुसार, यदि विस्तृत जाँचपछि केही भाग नदी किनारबाहेक सरकारी वा निजी वैध जग्गामा परेको प्रमाणित भए सम्बन्धित जग्गा फिर्ता गरिनेछ।

घरधनीहरूले आफूहरूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै भत्काउने कार्यको विरोध गर्दै आएका थिए। तर आठ सदस्यीय सरकारी टोलीको प्रतिवेदनपछि पुनः डोजर परिचालन गरिएको प्रशासनले जनाएको छ।

नदी किनार संरक्षण तथा अवैध संरचना हटाउने अभियान अन्तर्गत यो कारबाहीलाई स्थानीय प्रशासनले निरन्तरता दिने संकेत दिएको छ।


सम्बन्धित समाचार