Logo

२० वैशाख, काठमाण्डौं । भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदराको विवेक विहारमा शनिबार राति एक चारतले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको दुःखद मृत्यु भएको छ ।

मध्यरातमा सुरु भएको आगोका कारण भवनभित्र रहेका व्यक्तिहरू जलेर र धुवाँमा निसास्सिएर हताहत भएका हुन् । आगलागीको सूचना पाउनासाथ १५ वटा दमकल घटनास्थल पुगेर करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।

उद्धार टोलीले १५ जनालाई सकुशल बाहिर निकाल्न सफल भए पनि भवनको विभिन्न तलामा ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । ज्यान जोगाउन चौथो तलाबाट छततर्फ भागेका केही व्यक्तिहरू छतको ढोका बन्द हुँदा बाहिर निस्कन नपाई धुवाँको चपेटामा परेका थिए ।

हाल प्रहरी र आपतकालीन निकायहरूले घटनास्थलमा थप खोज तथा अनुसन्धान जारी राखेका छन् ।


सम्बन्धित समाचार