Logo

२० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगर तथा आसपासका हजारौं नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको सिर्सिया नदी अहिले गम्भीर प्रदूषण र अतिक्रमणको चपेटामा परेको छ ।

एक समय पवित्र र जीवनदायिनी मानिएको यो नदी अहिले औद्योगिक ढल, रासायनिक फोहोर तथा अव्यवस्थित कचरा व्यवस्थापनका कारण विषाक्त बन्दै गएको स्थानीयको गुनासो छ । नदीको अवस्था यति नाजुक बनेको छ कि यसको प्रभाव नेपाल मात्र नभई सीमापार भारतको रक्सौलसम्म देखिन थालेको बताइएको छ ।

स्थानीय बासिन्दाका अनुसार नदीको दूषित पानीका कारण दुर्गन्ध फैलिनुका साथै विभिन्न स्वास्थ्य समस्या, कृषि उत्पादनमा गिरावट, भूजल प्रदूषण र समग्र वातावरणीय संकट उत्पन्न भइरहेको छ । नदी किनारमा बसोबास गर्ने समुदायहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

लामो समयदेखि नागरिक स्तरमा आन्दोलन, संघर्ष र सत्याग्रह हुँदै आए पनि समस्या समाधानतर्फ ठोस प्रगति नभएको अभियन्ताहरूको भनाइ छ । अभियन्ता ओमप्रकाश सरार्फले प्रधानमन्त्री बालेनशाहलाई सम्बोधन गर्दै खुला पत्रमार्फत तत्काल हस्तक्षेपको माग गरेका छन् ।

उनले नदीको प्रदूषण अन्तर्राष्ट्रिय कानुन विपरीत भएको र यसले नेपाल–भारत सम्बन्धमा समेत नकारात्मक असर पारिरहेको उल्लेख गरेका छन् ।

कडा निगरानीदेखि राष्ट्रिय अभियानसम्मका माग

खुला पत्रमा सरकारले तुरुन्तै चाल्नुपर्ने सात बुँदे सुझाव प्रस्तुत गरिएको छ । जसमा उद्योगबाट नदीमा मिसाइने ढल तथा रासायनिक फोहोरमा कडा निगरानी, विशेष राष्ट्रिय सरसफाइ अभियान सञ्चालन, आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण, प्रदूषण गर्ने उद्योगमाथि कानुनी कारबाही, तीनै तहका सरकारबीच समन्वय, नदी किनार अतिक्रमण हटाउने तथा हरियाली प्रवर्द्धन, र नदीलाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्ने योजना समावेश छन् ।

सरकारको ध्यानाकर्षण गराउँदै चेतावनी

अभियन्ताहरूले सिर्सिया नदीको संरक्षण केवल स्थानीय मुद्दा नभई राष्ट्रिय वातावरण, जनस्वास्थ्य र भावी पुस्तासँग जोडिएको विषय भएको बताएका छन् । यसअघि पनि विभिन्न तहमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको गुनासो गर्दै उनीहरूले यसपटक ठोस कदम चालिने अपेक्षा व्यक्त गरेका छन् ।

अन्यथा नागरिकस्तरको आन्दोलन अझ सशक्त रूपमा जारी रहने चेतावनी समेत दिइएको छ ।

समाधानको प्रतीक्षामा वीरगञ्ज

वीरगञ्जवासी अहिले सरकारको प्रभावकारी पहलको प्रतीक्षामा छन् । सिर्सिया नदीलाई पुनः स्वच्छ, सुन्दर र जीवनदायिनी बनाउने प्रतिबद्धता व्यवहारमा देखिने हो कि होइन भन्ने प्रश्न यतिबेला सबैको चासोको विषय बनेको छ ।


सम्बन्धित समाचार