२१ वैशाख,काठमाडौं । नेपालको वायुमण्डलमा अहिले तीनवटा मौसमी प्रणालीको ‘त्रिवेणी’ सक्रिय देखिएको छ ।
पश्चिमी र स्थानीय वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावले देशैभरिको मौसम अस्थिर बनेको हो । सुदूरपश्चिमबाट प्रवेश गरेको शक्तिशाली वर्षा र हुरीबतासको प्रणाली अहिले क्रमशः लुम्बिनी, बागमती र मधेस प्रदेशतर्फ सर्दै गएको छ ।
यसको प्रभावले विशेषगरी बागमती र मधेस प्रदेशका अधिकांश क्षेत्रमा वर्षा सुरु भइसकेको छ भने काठमाडौं उपत्यकामा पनि यसको प्रत्यक्ष असर देखिन थालेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो प्रणाली निकै आक्रामक रूपमा अघि बढिरहेको छ ।
करिब ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्ने हुरीबतासले केही स्थानमा दुई घण्टासम्म उपद्रो मच्चाउन सक्ने देखिएको छ । हाल कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो जिल्लाहरूमा चट्याङ र मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ ।
यद्यपि, आज साँझदेखि वर्षाको तीव्रतामा केही कमी आउने संकेत देखिए पनि यो मौसमी झरी आगामी एक सातासम्मै टिकिरहने विभागको प्रक्षेपण छ ।
आगामी तीन दिनको मौसमको मिहिन विश्लेषण गर्दा भोलि मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ ।
बुधबार पनि यो क्रम खासै रोकिने छैनस पहाडी र हिमाली भूभागमा बदलीका साथै चट्याङसहितको वर्षा हुनेछ भने तराईका केही क्षेत्रमा हल्का वर्षाले शीतलता प्रदान गर्नेछ ।
हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाका कारण जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आम सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष आग्रह गरेको छ ।

















