Logo

१४ बैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरपालिकाकै स्वामित्वमा कायम गर्न जिल्ला अदालतले गरेको फैसला उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सदर गरेको छ ।

वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३) जग्गा किर्ते जालसाजी गरी बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरले २०७५ असार ३ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । वीरगञ्ज महानगरपालिका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत डाक्टर भिष्मकुमार भुषालको नाउँबाट मुद्धा दायर गरिएको थियो ।

२०७५ साल असार ३ गते पर्सा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले व्यक्तिका नाममा दर्ता भएको वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं. १८ र ५३) जग्गा वीरगन्ज महानगरपालिका कार्यालयका नाममा दर्ता कायम गर्ने फैसला गरेको थियो । सोही फैसलालाई उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले सदर गरेको हो ।

महानगरपालिकाका अनुसार जीपी कोइराला फाउन्डेसन कार्यालय भवन निर्माण भएको जग्गा पनि पशुपति आदर्शनगर निर्माण समिति अन्तर्गतकै हो । मालपोत कार्यालयको जग्गाधनीको लगतबाट समेत उक्त कित्ता नं. ८१७ को वास्तविक धनी वीरगन्ज महानगरपालिका नै रहेको प्रस्ट देखिन्छ ।

यसअघि पनि अरुण अग्रवालले ०६१ सालमा उक्त जग्गा आफ्नो भन्दै तत्कालीन नगरपालिकाको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी किर्ते प्रमाण खडा गरी जग्गा नामसारी गराएका थिए । नगरपालिकाले ०६१ चैत १९ मा कानुनी कारबाहीको माग राख्दै लिखत बदर गर्न मालपोतलाई पत्राचार गरेको थियो ।

कारबाहीको भयले अग्रवाल आफै मालपोतमा उपस्थित भई उक्त जग्गा मेरो नाउँबाट बदर गरी नगरपालिकाका नाउँमा कायम गरिदिनु भन्दै ०६१ चैत २४ मा निवेदन दिएका थिए । त्यसको चार वर्षपछि फेरि भूमाफियाले उक्त जग्गा नामसारी गराउन खोजेको नगरपालिकाले थाहा पाएपछि ०६५ पुस ३ मा मालपोतलाई पत्र लेखी नगरपालिकाका नाममा दर्ता रहेको जग्गा नगरपालिकाबाट फुकुवा पत्र नआएसम्म रोक्का राख्न आग्रह गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाका कर्मचारी, वडासचिव, नापी सर्वेक्षकको मिलेमतोमा उक्त जग्गा व्यक्तिका नाममा नामसारी भएको थियो । साबिक पशुपति आदर्शनगर निर्माण समितिबाट हस्तान्तरण भई वीरगन्ज महानगरको स्वामित्वमा आएको उक्त कित्ता नं ८१७ को नयाँ नापीमा कित्ता नं १८ र ५३ कायम छ ।

०७४ चैत १० मा वीरगन्जको आदर्शनगर क्षेत्रमा महानगर स्वामित्वको कित्ता नं ८१७ को एक कट्ठा जग्गामा माटो पुर्ने काम सुरु भएपछि जालसाजीको खुलासा भएको थियो । वीरगन्ज–३ छपकैया निवासी नजमा बेगमले माटो भर्न लगाएकी थिइन् ।

महानगरले मालपोत कार्यालयमा बुझ्दा बेगमले उक्त जग्गा अरुणकुमार अग्रवालसँग ०७४ मंसिर ११ मा खरिद गरेकी थिइन् । अग्रवालले ०७४ मंसिर ८ गते हाल साबिक गराएको उक्त जग्गा महानगरपालिकाले बिक्री नै गरेको छैन । महानगरपालिकाले मालपोतलाई तिरो तिर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिकाको उक्त जग्गामा नेपाली कांग्रेसको पूर्व सभापति स्वर्गीय गिरीजा प्रसाद कोइरालाको नाउँमा खोलिएको जिपि कोइराला फाउन्डेसनको कार्यालय राखिएको छ । वीरगञ्ज महानगरपालिकाले उक्त जग्गाको मुद्धा जितेपछि त्यस विषयमा के गर्छ सवैको चासोको बिषय भएको छ । दुई तहको अदालतबाट मुद्धा फैसला भएपछि महानगरपालिकाले उक्त जग्गा आफ्नो नाउँमा भोगचलान गर्न पाउने बाटो खुलेको छ ।


सम्बन्धित समाचार