Logo

२२ बैशाख, काठमाडौँ । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशको विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । भाजपाले पश्चिम बंगाल र असममा ऐतिहासिक सफलता हासिल गर्दै विपक्षीको गढ भत्काएको छ भने अर्कोतर्फ विपक्षी दलहरूले निर्वाचन आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै नतिजालाई ‘जनमतको चोरी’ भनेका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले निर्वाचन आयोगको दुरुपयोग गरी भाजपाले नतिजा आफ्नो पक्षमा पारेको गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै गान्धीले पश्चिम बंगाल र असमको निर्वाचनलाई ‘स्पष्ट रूपमा चोरी गरिएको’ दाबी गरेका छन् । उनले पश्चिम बंगालमा मात्रै १०० भन्दा बढी सिट धाँधलीपूर्ण ढङ्गले खोसिएको भन्दै तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीको भनाइमा पूर्ण सहमति जनाएका छन् । गान्धीले भने, “निर्वाचन चोरी र संस्थागत चोरी भइसकेपछि अब लोकतन्त्रको अर्को के बाटो बाँकी रह्यो र?” उनले विगतका निर्वाचनहरूमा पनि भाजपाले यस्तै ‘सेटिङ’ प्रयोग गरेको आरोप लगाएका छन् ।

निर्वाचनको औपचारिक नतिजाअनुसार पश्चिम बंगालमा भाजपाले १५ वर्ष लामो ममता बनर्जीको शासनलाई पन्छाउँदै स्पष्ट बहुमतसहित ऐतिहासिक जित दर्ता गरेको छ। बंगालमा भाजपाले २०० भन्दा बढी सिटमा अग्रता/विजय हासिल गरेको छ भने टीएमसी ८० को हाराहारीमा खुम्चिएको छ । असममा पनि भाजपाले १०२ सिटसहित आफ्नो पकड थप बलियो बनाएको छ भने कांग्रेसले २१ सिटमा चित्त बुझाउनुपरेको छ ।

अन्य राज्यहरूमा भने नतिजा मिश्रित देखिएको छ । केरलमा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले शानदार पुनरागमन गर्दै वामपन्थी सरकारलाई सत्ताच्युत गरेको छ। तमिलनाडुमा भने अभिनेता विजयको पार्टी ‘तमिलगा वेट्रि कझगम’ (TVK) ले सबैलाई चकित पार्दै सबैभन्दा ठूलो दलका रूपमा उदाएर परम्परागत द्राविडी राजनीतिमा धक्का दिएको छ।

भाजपाले यस नतिजालाई ‘शासन र परिवर्तनको जनमत’ भनेको छ भने विपक्षीहरूले भने यसलाई लोकतान्त्रिक संस्थाको असफलता र ‘इलेक्टोरल लुट’ भन्दै सडक र सदनमा विरोधको स्वर उठाउने संकेत गरेका छन् । भारतको यो चुनावी नतिजाले आगामी दिनमा त्यहाँको राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण र तिक्तता बढाउने निश्चित देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै