२३ वैशाख,काठमाडौं । युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघि रुसले पूर्वी युक्रेनका विभिन्न क्षेत्रमा भीषण सैन्य आक्रमण गरेको छ। मंगलबार भएका शृङ्खलाबद्ध हमलामा कम्तीमा २७ जना नागरिकको ज्यान गएको जनाइएको छ।
यो वर्षकै सबैभन्दा घातक मानिएको आक्रमणमा जापोरिज्जिया सहरमा मात्रै १२ जनाको मृत्यु भएको छ। रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजयको स्मरणमा मे ८ र ९ का लागि सीमित युद्धविराम घोषणा गरेको थियो।
यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी प्रस्ताव अस्वीकार गर्दै बुधबार मध्यरातदेखि लागू हुने गरी अनिश्चितकालीन युद्धविरामको प्रस्ताव अघि सारेका थिए। तर मस्कोले उक्त प्रस्ताव बेवास्ता गर्दै आक्रमणलाई थप तीव्र बनाएको आरोप युक्रेनको छ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले रुसले शान्तिप्रति कुनै संकेत नदेखाएको र युद्धविराम नजिकिँदै गर्दा आक्रमण झन् बढाएको बताएका छन्।
दक्षिण–पूर्वी सहर जापोरिज्जियामा रुसले निर्देशित हवाई बम तथा इरानी डिजाइनका शाहेद ड्रोन प्रयोग गरी आवासीय भवन र व्यापारिक केन्द्रमा प्रहार गरेको छ। क्षेत्रीय गभर्नर इभान फेडोरोभका अनुसार आक्रमणबाट कैयौँ भवन तथा सवारी साधन ध्वस्त भएका छन् भने २० जनाभन्दा बढी घाइते भएका छन्।
उत्तर–पूर्वी क्रामाटोर्स्कमा ६ जना र डिनिप्रोमा ४ जनाको ज्यान गएको पुष्टि भएको छ। राष्ट्रपति जेलेन्स्कीले यी आक्रमणलाई “क्रूर, संवेदनहीन र कुनै सैन्य औचित्य नभएको आतंककारी कार्य” भनेका छन्।
यता, रुस–नियुक्त अधिकारीहरूले भने युक्रेनले युद्धविराम सुरु हुनुअघि क्रिमियामा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभका अनुसार जान्कोइ क्षेत्रमा भएको आक्रमणमा पाँच नागरिकको मृत्यु भएको छ।
रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले युद्धविराम प्रस्तावबारे टिप्पणी नगरे पनि मोर्चामा रहेका आफ्ना सैनिकहरूको प्रशंसा गरेका छन्। रुसी रक्षा मन्त्रालयले सात घण्टाभित्र ९३ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ।
रुस–युक्रेनबीच बढ्दो तनावले शान्ति वार्तालाई थप जटिल बनाएको छ भने यसले विश्व अर्थतन्त्र र मानवीय संकटमा समेत थप असर पार्ने चिन्ता व्यक्त गरिएको छ।


















