Logo

२३ वैशाख,वीरगञ्ज । मधेस प्रदेशकै प्रमुख स्वास्थ्य संस्था मानिएको नारायणी अस्पतालमा विगत तीन वर्षदेखि मनोचिकित्सक नहुँदा मानसिक स्वास्थ्य सेवा प्रभावहीन बनेको छ। केन्द्रीय अस्पतालको मान्यता प्राप्त यस संस्थामा दैनिक २५ देखि ३० जना मानसिक समस्या भएका बिरामी परामर्शका लागि आउने गरे पनि विशेषज्ञ अभावका कारण उनीहरूले गुणस्तरीय सेवा पाउन सकेका छैनन्।

अस्पतालका सूचना अधिकृत डा.उदय नारायण सिंहका अनुसार यसअघि करारमा नियुक्त एक मनोचिकित्सकले एक वर्ष सेवा दिएपछि पद खाली भएको हो। त्यसयता अस्पताल मनोचिकित्सकविहीन अवस्थामै सञ्चालन भइरहेको उनले बताए।

उनका अनुसार मनोचिकित्सक अभावका कारण मानसिक रोग, लागूऔषध दुरुपयोग तथा अन्य मनोसम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ। हाल बिरामीहरूलाई वीरगञ्जस्थित नेसनल मेडिकल कलेज पठाइँदै आएको छ, जसका कारण अतिरिक्त आर्थिक भार र समयको नोक्सानी भइरहेको गुनासो बढ्दै गएको छ।

स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरूका अनुसार तराई क्षेत्रमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको छ तर सोहीअनुसार सेवा विस्तार नहुँदा अवस्था झन् जटिल बन्दै गएको छ। उनीहरूले विराटनगर र भरतपुरका केन्द्रीय अस्पतालहरूमा चारभन्दा बढी मनोचिकित्सक कार्यरत रहँदा नारायणी अस्पतालमा एकजना पनि विशेषज्ञ नहुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

यसैबीच अस्पतालमा डायलासिस सेवा सञ्चालनमा रहे पनि नेफ्रोलोजिस्टको अभावले सेवा प्रभावित बनेको छ। अस्पतालमा रहेका १५ वटा डायलासिस मेसिनमार्फत दैनिक करिब ३० देखी ३५ जना मृगौला रोगीले सेवा लिइरहेका छन्। तर विशेषज्ञ चिकित्सक नहुँदा उपचारको गुणस्तरमा असर परेको बताइएको छ।

अस्पताल प्रशासनले मनोचिकित्सक र नेफ्रोलोजिस्ट पदपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित निकायमा पटक–पटक पत्राचार गरे पनि हालसम्म ठोस पहल नभएको गुनासो छ।

बिरामी तथा सरोकारवालाहरूले तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार आवश्यक जनशक्ति अभावकै कारण मधेस प्रदेशका नागरिकहरू अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन्।


सम्बन्धित समाचार
भर्खरै