Logo

२४ बैशाख, काठमाडौँ । पश्चिम बंगाल विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गरेलगत्तै राज्यमा राजनीतिक हिंसाले भयानक रूप लिएको छ । निर्वाचन परिणाम सार्वजनिक भएको केही दिनभित्रै उत्तर २४ परगनाको मध्यमग्राममा भाजपाका वरिष्ठ नेता सुवेदु अधिकारीका स्वकीय सचिव चन्द्रनाथ रथको गोली हानी हत्या भएपछि बंगालको राजनीति पुनः रक्तपातपूर्ण मोडमा पुगेको हो ।

बुधबार राति भएको यस हत्याकाण्डमा अपराधीहरूले निकै चतुरतापूर्वक योजना बुनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पश्चिम बंगालका प्रहरी महानिर्देशक (डीजीपी) सिद्धीनाथ गुप्ताका अनुसार घटनास्थल नजिकै बरामद गरिएको शंकास्पद चार पाङ्ग्रे गाडीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको थियो ।

उक्त नम्बर सिलिगुढीका विलियम जोसेफको नाममा दर्ता भएको देखिए पनि जोसेफको वास्तविक गाडी घटनास्थलबाट ५५७ किलोमिटर टाढा सिलिगुढीकै ग्यारेजमा फेला परेको छ । यसले अपराधीहरूले विगत केही दिनदेखि रथको निगरानी गरिरहेको र योजनाबद्ध रूपमा ‘टार्गेट किलिङ’ गरेको पुष्टि गर्दछ ।

भाजपा नेता सुवेदु अधिकारीले आफ्ना निकटतम सहयोगीको हत्यालाई राजनीतिक रिसिइबीसँग जोड्दै कार्यकर्तालाई संयम रहन अपिल गरेका छन्। यद्यपि, भाजपा नेत्री अग्निमित्रा पलले ममता बनर्जी भवानीपुरमा पराजित हुनुको बदलास्वरूप यो हत्या भएको गम्भीर आरोप लगाएकी छन् ।

उता, सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) ले भने घटनाको भर्त्सना गर्दै यसलाई राजनीतिक रङ नदिन आग्रह गरेको छ। टीएमसीले दोषीलाई कानुनी दायरामा ल्याउन अदालतको निगरानीमा सीबीआई जाँचको मागसमेत गरेको छ ।

चन्द्रनाथ रथको हत्यापछि मध्यमग्राम र वरपरका क्षेत्रमा भाजपा कार्यकर्ताहरूको आक्रोश चुलिएको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो सङ्ख्यामा केन्द्रीय सुरक्षा बल परिचालन गरिएको छ। प्रहरीले बंगलादेश र झारखण्डका सीमावर्ती नाकाहरूमा उच्च सतर्कता अपनाएको छ। निर्वाचन परिणाम आएको सोमबारदेखि नै भड्किएको हिंसाका क्रममा अहिलेसम्म राज्यभरबाट १५ सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन्।

भाजपाले २९४ मध्ये २०७ सिट जितेर सरकार बनाउने तयारी गरिरहँदा भएको यो हत्याकाण्डले बंगालमा शान्तिपूर्ण सत्ता हस्तान्तरणमाथि ठूलो चुनौती खडा गरिदिएको छ।


सम्बन्धित समाचार
भर्खरै