Logo

२४ बैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्बासी बस्तीहरूमा प्रशासनले कडा कदम चालेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालन गरेको बस्ती खाली गराउने अभियानअन्तर्गत हालसम्म १९ वटा सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । यसक्रममा २ हजार ६ सय ८७ वटा घरटहरा पूर्ण रूपमा ध्वस्त बनाइएको छ, जसले गर्दा दशकौँदेखि ती स्थानमा बस्दै आएका हजारौँ परिवारको बास खोसिएको छ ।

प्रशासनले सार्वजनिक गरेको विस्तृत तथ्याङ्क अनुसार भत्काइएका संरचनामध्ये ८ सय ९० वटा पक्की घर रहेका छन् भने १ हजार ७ सय ९७ वटा कच्ची टहरा रहेका छन् । यो अभियानका कारण १५ हजार ३ सय १६ जना नागरिक प्रत्यक्ष रूपमा विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८ सय ५८ पुरुष, ५ हजार ३ सय २५ महिला, १ हजार ४ सय ३७ बालक र १ हजार ६ सय ९६ जना बालिका रहेका छन् ।

एकाबिहानै बस्तीमा डोजर पुगेपछि बालबालिका र महिलाहरूले आफ्नो अत्यावश्यक सामान समेत जोगाउन नपाएको भन्दै स्थानीय स्तरमा चर्को असन्तुष्टि र पीडा व्यक्त भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा संरक्षण र शहरी सौन्दर्यकरणका लागि यो अभियान अनिवार्य रहेको बताए पनि, यति ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुले मानवीय संकटको प्रश्न उब्जाएको छ ।

विस्थापित भएका हजारौँ मानिसहरू अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । सरकारले उनीहरूको वैकल्पिक व्यवस्थापनका बारेमा ठोस योजना सार्वजनिक नगर्दा ती परिवारहरूको भविष्य अन्योलमा परेको छ भने काठमाडौँका बाँकी सुकुम्बासी क्षेत्रहरूमा पनि त्रास फैलिएको छ ।


सम्बन्धित समाचार