२४ वैशाख,वीरगञ्ज । अभिभावक संघ पर्साले विद्यालयमा आइतबार दिइँदै आएको अतिरिक्त बिदा कटौतीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामार्फत ज्ञापनपत्र बुझाएको छ।
संघले लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर परेको, पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ भइरहेको तथा शैक्षिक अनुशासन कमजोर बन्दै गएको जनाएको छ।
संघका अनुसार आइतबार बिदाका कारण धेरै बालबालिका मोबाइल, टेलिभिजन तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको छ।
ज्ञापनपत्रमा शिक्षा नियमावलीअनुसार विद्यालय न्यूनतम २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था उल्लेख गर्दै अतिरिक्त बिदाले शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको दाबी गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष सन्दिप रनियारको नेतृत्वमा कोषाध्यक्ष कन्हैया पटेलसहित अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी तथा धिरेन्द्र तिवारीलगायतको सहभागिता रहेको थियो।
अभिभावक संघले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन, विद्यार्थीहरूको नियमित पठनपाठन सुनिश्चित गर्न तथा भविष्यप्रति जिम्मेवार बनाउन आइतबारको बिदा पुनर्विचार गरी कटौती गर्न सरकारसँग माग गरेको जनाएको छ।

















