२४ वैशाख,वीरगञ्ज । नारायणी अस्पताल यतिबेला आफैं संकटमा परेको छ। मधेश प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने अस्पताल वीरगञ्जमा भइरहेको सडक विस्तार योजनाको प्रत्यक्ष प्रभावमा परेको हो। विशेषगरी अस्पतालको आकस्मिक सेवा र आईसीयू रहेको भवन सडकको मापदण्डभित्र परेपछि अस्पताल प्रशासन गम्भीर चिन्तामा परेको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा गत वैशाख ६ र ७ गते राष्ट्रिय राजमार्ग विस्तार अभियानअन्तर्गत मेनरोड क्षेत्रमा डोजर चलाएको थियो। सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर मापदण्ड कायम गर्ने उद्देश्यसहित करिब ८ किलोमिटर क्षेत्रमा रहेका झण्डै १ हजार २ सय पक्की संरचना—घर, पसल, भवन र टहरा—भत्काइएको थियो।
यस क्रममा नारायणी अस्पतालको प्रमुख सेवा सञ्चालन भइरहेको भवन पनि सडक विस्तारको सीमाभित्र परेको छ। सडक विभागले अस्पताल आसपासको क्षेत्रसमेत नापजाँच गरी चिन्ह लगाइसकेको छ भने सीमाभित्र रहेका संरचना खाली गर्न अनुरोध गर्दै पुनः डोजर चलाउने चेतावनीसमेत दिएको छ।
अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार अस्पतालको आकस्मिक विभाग र आईसीयू सेवा सञ्चालन भइरहेको भवन नै सडक विस्तारको दायरामा परेको छ। “अरूलाई जीवन दिने अस्पताल अहिले आफैं भेन्टिलेटरमा पुगेको अवस्था छ,” उनले भने, “तत्कालका लागि वैकल्पिक भवन वा व्यवस्थापनको कुनै तयारी छैन।”

हाल अस्पतालमा २५ शय्याको आकस्मिक सेवा सञ्चालनमा छ भने १० शय्याको आईसीयू र ८ शय्याको सिसियू सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। यी सेवाहरू मधेश प्रदेशकै महत्वपूर्ण र व्यस्त स्वास्थ्य सेवामध्ये पर्छन्। दैनिक सयदेखि एक सय २० जनासम्म बिरामीले आकस्मिक सेवा लिने गरेका छन्।
सडक विस्तारका कारण अस्पतालको डायलासिस सेवा पनि प्रभावित हुने देखिएको छ। अस्पतालमा रहेका १५ वटा डायलासिस मेसिनमार्फत दैनिक ३० देखि ३५ जना मृगौला रोगीले सेवा लिइरहेका छन्। भवन अभावका कारण सेवा स्थानान्तरण गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
त्यसैगरी अस्पतालको अर्को भवनमा सञ्चालन भइरहेको एक्स–रे सेवा तथा केही ओपिडी सेवासमेत प्रभावित हुने अवस्था रहेको डा. सिंहले बताए। अस्पतालले दैनिक करिब १२० जना बिरामीलाई एक्स–रे सेवा प्रदान गर्दै आएको छ।
अस्पताल प्रशासनका अनुसार हालकै अवस्थामा भवन अभाव गम्भीर समस्याका रूपमा रहेको छ। आकस्मिक सेवा र आईसीयूजस्ता संवेदनशील विभागहरू भुईँतलामा हुनुपर्ने भए पनि अब ती सेवा कहाँ सञ्चालन गर्ने भन्ने अन्योल बढेको छ। “हामीसँग पहिलेदेखि नै भवनको अभाव थियो, अब समस्या झन् जटिल बनेको छ,” डा. सिंहले भने।
नयाँ भवन निर्माणको योजना भए पनि त्यसका लागि कम्तीमा दुईदेखि तीन वर्ष लाग्न सक्ने अस्पतालको अनुमान छ। हाल उपलब्ध पुरानो भवनसमेत जीर्ण अवस्थामा रहेकाले त्यहाँ सेवा सञ्चालन गर्दा थप जोखिम निम्तिने अस्पताल प्रशासनको भनाइ छ।
सडक विस्तारलाई विकासको आवश्यक प्रक्रिया भन्दै सरकारले अघि बढाइरहेका बेला नारायणी अस्पतालजस्तो संवेदनशील स्वास्थ्य संस्थाको सेवा नै प्रभावित हुने अवस्था सिर्जना भएपछि स्थानीयवासी तथा स्वास्थ्यकर्मीले विकल्पसहितको योजना आवश्यक रहेको बताएका छन्। अस्पतालका सेवा अवरुद्ध भए मधेश प्रदेशका हजारौँ बिरामी प्रत्यक्ष प्रभावित हुने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।


















