२४ बैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
शोभा भनिने जानुका पाठकले दिएको ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा परेको मुद्दामा सुनुवाइ गर्दै अदालतले बिहीबार यस्तो निर्णय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले आरोपितहरूलाई थुनामा राखिरहनु नपर्ने ठहर गर्दै धरौटी माग गर्ने आदेश दिएको हो ।
अदालतको आदेशअनुसार अम्बिका बस्नेत र शर्मिला बस्नेतले जनही ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । त्यस्तै, सोही मुद्दाका अन्य ८ जना प्रतिवादीहरू गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीलाई भने जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जानुका पाठकले आफूमाथि साङ्घातिक आक्रमण गरी ज्यान लिने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यो प्रकरण कानुनी प्रक्रियामा पुगेको थियो ।
लामो समयदेखि चर्चामा रहेको यो विवादमा अदालतले तत्कालका लागि धरौटीमा छाड्ने आदेश दिएसँगै प्रतिवादीहरूले तोकिएको रकम बुझाएर थुनामुक्त हुने बाटो खुलेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर अभियोग लागेको यस मुद्दाको अन्तिम फैसला हुन भने बाँकी नै छ । एमालेका प्रभावशाली नेता बस्नेतको परिवार नै संलग्न रहेको भनिएको यस घटनाले राजनीतिक र सामाजिक वृत्तमा निकै चासो जगाएको थियो ।

















