२५ वैशाख, वीरगञ्ज । नेपालको संविधानअनुसार तेस्रो ठूलो राष्ट्रभाषाको रूपमा रहेको भोजपुरी यतिबेला दोहोरो चपेटामा परेको छ। व्यावसायिकताका नाममा भित्रिएको ‘अश्लीलता’ ले एकातिर यसको सांस्कृतिक गरिमा घटाउँदै छ भने, अर्कोतिर त्यसैलाई बहाना बनाएर स्थानीय तहले लगाउने ‘थोक प्रतिबन्ध’ ले भाषाकै अस्तित्वमाथि प्रश्न उठाएको छ । हालै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० ले गरेको भोजपुरी गीत बजाउन नपाउने ‘बाध्यकारी निर्णय’ ले यतिबेला गम्भीर संवैधानिक र भाषिक बहस सिर्जना गरेको छ ।

वडा कार्यालयको ‘माइन्युट’ मै भोजपुरी गीत बजाउन नपाइने र बजाएमा कारबाही हुने व्यहोरा उल्लेख भएपछि यसको तीव्र विरोध सुरु भएको हो। चौतर्फी दबाबपछि वडा अध्यक्ष मनोज कुमार यादवले ‘अश्लील गीतमा मात्र प्रतिबन्ध लगाइएको’ भन्दै बचाउ गरे पनि माइन्युटमा भने अझै सुधार नगरिएको सरोकारवालाहरूको दाबी छ ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले यसलाई ‘छोटे राजा’ को स्वेच्छाचारी निर्णय भन्दै घोर भर्त्सना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पर्सा जिल्ला भोजपुरीको केन्द्र र अघोषित राजधानी हो। अश्लीलता हरेक भाषामा हुन सक्छ, तर त्यसको आडमा मातृभाषालाई नै प्रतिबन्ध लगाउनु दुर्भाग्यपूर्ण र दण्डनीय कार्य हो।”

त्यसैगरी, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष रञ्जित पाण्डेयले जनचेतनाका माध्यमबाट विकृति नियन्त्रण गर्नुपर्नेमा सिङ्गो भाषामाथि प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन् । “युवा कमिटी बनाएर कला–संस्कृतिका नाटक र सेन्सर बोर्डको सक्रियतामार्फत अश्लीलता रोक्न सकिन्छ, तर सबै गीतमा प्रतिबन्ध लगाउनु भाषामाथिको प्रहार हो,” उनले भने ।
भोजपुरिया उडान वीरगञ्जका अध्यक्ष अमोद गुप्ताले भोजपुरीमै आफ्नो धारणा राख्दै यो कदम सरासर गलत भएको बताएका छन् । “भोजपुरी हाम्रो मातृभाषा हो, यसलाई दबाउने कोसिस हामीलाई मान्य छैन । अश्लीलता हिन्दीमा पनि छ, तर कारबाही गीत गाउने र बजाउनेमाथि हुनुपर्छ, भाषामाथि होइन,” उनले माग गरेका छन् ।
उनको स्टाटस् : “वीरगञ्ज– ३० में भोजपुरी गीत के बजावे में प्रतिबन्ध लगावल गइल बा । ई कदम सरासर गÞलत बा।ई फैसला के हम लगायेत पूरा भोजपुरी समाज घोर विरोध करता । काहे कि भोजपुरी हमनी के मातृभाषा ह । आपन मातृभाषा के दबावे के कोसिस हो रहल बा ई फैसला हमनी के मान्य नइखे । ऊ फैसला तत्काल खारिज करे के परल । अश्लील गीत खाली भोजपुरीये में ना,बल्की हिन्दी में भी बा । हर गांव टोल समाज में अश्लील गीत पर प्रतिबन्ध लागाई । अश्लील गीत पर आवाज उठाई,ओमे हमनी के भी साथ देहेम सन, अश्लील गीत गावे आ बजावे वाला दुनू के उपर कारवाई होंखे के चाहि ।” जय भोजपुरी जय मातृभाषा ।।

भोजपुरिया समाजको आफ्नै मौलिक रीतिरिवाज, जीवनशैली र आध्यात्मिक विश्वासको लामो परम्परा छ । चौरंगीनाथ र गोरखनाथदेखि सन्त कबीरसम्मले अभिव्यक्तिको माध्यम बनाएको यो भाषामा आल्हा, लोरिकाइन र सोरठी जस्ता वीरगाथा एवं ऋतु अनुसारका लोकगायनको भण्डार छ ।
तर, पछिल्लो समय प्रविधिको दुरुपयोग र सस्तो लोकप्रियताका लागि उत्पादन गरिएका अश्लील सामग्रीले यो गौरवमय इतिहासलाई धमिल्याउने प्रयास गरिरहेका छन् ।
विज्ञहरूका अनुसार अश्लीलता कुनै भाषाको दोष नभई बजारिया विकृति हो । १५ लाख ८४ हजारभन्दा बढी नागरिकको मातृभाषा रहेको भोजपुरीलाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया सुस्त भइरहेका बेला यस्ता प्रतिबन्धले भाषालाई झन् खुम्च्याउने उनीहरूको तर्क छ ।
भाषाप्रेमीहरूले ‘टाउको दुख्दा घाँटी काट्ने’ उखानजस्तै भएको यस निर्णयको विकल्पमा सेन्सरसिप, शैक्षिक कार्यान्वयन र सरकारी सञ्चारमा स्थायी दरबन्दीको माग गरेका छन् । अश्लील शब्द प्रयोग भएका गीतलाई सार्वजनिक स्थलमा रोक लगाउनु जायज भए पनि सभ्य र मौलिक गीतलाई प्रोत्साहन गर्नु नै आजको आवश्यकता भएको सरोकारवालाहरूको साझा निष्कर्ष छ ।


















