Logo

२५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व चयनका लागि संवैधानिक परिषद्ले गरेको पछिल्लो सिफारिसले न्यायपालिकाभित्र ठूलो हलचल पैदा गरेको छ ।

वरिष्ठताको रोलक्रम मिचेर चौथो नम्बरमा रहेका न्यायाधीश डा.मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएपछि सर्वोच्चका न्यायाधीशहरूबीच तीव्र मतभेद देखिएको हो ।

यही विवाद र छलफलका कारण शुक्रबार बिहान बसेको फुलकोर्ट (पूर्ण बैठक) लम्बिएपछि दैनिक पेशी सूची सार्वजनिक हुन झण्डै दुई घण्टा ढिलो भएको छ, जसलाई अदालत प्रशासनले ‘प्राविधिक कारण’ भनेर उल्लेख गरेको छ ।

बैठकमा प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका डा. शर्माले संक्षिप्त भनाइ राखेर गोला तान्न नभ्याउने भन्दै बाहिरिएका थिए भने वरिष्ठताको पहिलो नम्बरमा भएर पनि सिफारिसमा नपरेकी न्यायाधीश सपना प्रधान मल्ल पनि शुक्रबारको इजलासमा बस्नुभएन ।

फुलकोर्ट बैठकमा सहभागी अधिकांश न्यायाधीशहरूले संवैधानिक परिषद्को यो निर्णयले न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने र यसले भविष्यमा संस्थाको स्वतन्त्रतामा गम्भीर आघात पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि, बैठकमा सहभागी तीन जना न्यायाधीशहरूले भने संवैधानिक प्रक्रिया अनुसार नै सिफारिस भएको र योग्यता पुगेका जोसुकैलाई परिषद्ले छनोट गर्न सक्ने भन्दै बचाउ गरेका थिए ।

उनीहरूले सिफारिसमा चित्त नबुझे संसदीय सुनुवाइ समितिमा परीक्षण हुने ठाउँ रहेको तर्क गरेका छन् । न्यायपालिकाको गरिमा र वरिष्ठताको सम्मान हुनुपर्ने अडान राख्ने बहुसंख्यक न्यायाधीशहरूको असन्तुष्टिले सर्वोच्च अदालतभित्रको आन्तरिक वातावरण निकै तिक्त बनेको संकेत मिलेको छ ।


सम्बन्धित समाचार
भर्खरै