२५ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत गठन गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् (काउन्सिल) को अध्यक्ष पदमा शिवजी गायक निर्वाचित हुनुभएको छ ।
निकुञ्जको कसरा क्षेत्रमा सम्पन्न निर्वाचनमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा दोमन भण्डारी ले २ मत, लालबहादुर दवाडी ले ७ मत प्राप्त गर्नुभएको थियो भने शिवजी गायक ले १० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।
मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत माडी क्षेत्रमा चार वटा समिति रहेका छन् । ती समितिहरूको प्रतिनिधित्व गर्दै पहिलो पटक माडी क्षेत्रबाट काउन्सिलको नेतृत्वमा अध्यक्ष चयन हुनु स्थानीय स्तरमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
काउन्सिलले निकुञ्ज, स्थानीय समुदाय, संरक्षणकर्मी तथा विभिन्न मध्यवर्ती उपभोक्ता समितिबीच समन्वय गर्ने छाता संरचनाको रूपमा काम गर्दै आएको छ । वन्यजन्तुबाट हुने क्षति, संरक्षणका चुनौती तथा स्थानीय जनताको जीवनस्तरसँग जोडिएका विषयमा काउन्सिलको भूमिका महत्वपूर्ण मानिन्छ । अब नवनिर्वाचित अध्यक्ष शिवजी गायक ले निकुञ्ज प्रशासन, स्थानीय तह, पर्यटन क्षेत्र, संरक्षण निकाय तथा समुदायबीच प्रभावकारी समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


















