Logo

२६ वैशाख,वीरगञ्ज । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरूले आन्दोलनलाई थप सशक्त बनाएका छन्। आन्दोलनको तेस्रो दिन शनिबार प्रदर्शनकारीहरूले हुलाकी मार्ग अवरुद्ध गर्दै र्‍याली तथा कोणसभा गरेका हुन्।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध सुरु भएको हो। स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने बताएका छन्।

शनिबार आयोजित आन्दोलनअन्तर्गत बजार परिक्रमा र्‍यालीसहित कोणसभा गरिएको थियो। कार्यक्रममा मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री संजय यादव ले राजस्व संकलन राज्यको प्रमुख आम्दानीको स्रोत भएकाले कानुनअनुसार राजस्व उठाउनु सरकारको दायित्व भएको बताए।

उनले जनतालाई आवश्यकताअनुसार सेवा सुविधा उपलब्ध गराउनु पनि राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै बरियारपट्टी जनसंख्या र व्यापारिक गतिविधिका हिसाबले तीव्र रूपमा विकास भइरहेको क्षेत्र भएकाले व्यवस्थित सञ्चालन गरिए यो नाका अन्य सीमावर्ती नाकाभन्दा ठूलो राजस्व संकलन गर्ने केन्द्र बन्न सक्ने दाबी गरे।

सरकारको निर्णयलाई उनले “राजनीतिक प्रतिशोध र गलत नीति” को संज्ञा दिँदै सेवा विस्तार गर्नुपर्ने समयमा उल्टै सेवा कटौती गरेर जनतालाई दण्डित गरिएको आरोप लगाए। साथै भन्सार कार्यालय बन्द गरेर नीतिगत भ्रष्टाचार गर्न खोजिएको आरोपसमेत उनले लगाए।

आन्दोलनकारीहरूले र्‍यालीका क्रममा ‘छोटी भन्सार फिर्ता गर’, ‘अर्थमन्त्री होसियार’ र ‘हाम्रो माग पूरा गर’ लगायतका नाराबाजी गरेका थिए।

यसअघि बिहीबार आन्दोलनकारीहरूले करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका थिए। शुक्रबार पनि सडक जाम तथा बजार बन्द गरेर आन्दोलन जारी राखिएको स्थानीय तथा विद्यार्थी नेता दिपेन्द्र यादव ले जानकारी दिए।

उनका अनुसार वैशाख २७ गते दिनभर बजार बन्द तथा मसाल जुलुस गरिनेछ भने वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिनेछ।

शनिबार बिहानदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित भएको छ भने नेपाल–भारत आवतजावत गर्ने यात्रुहरूले सास्ती खेप्नुपरेको छ।


सम्बन्धित समाचार