Logo

२६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले समाजका ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्।

शनिबार मनमोहन स्मृति प्रतिष्ठान ले आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका असल अभ्यासलाई पाठ्यक्रम तथा अन्तरक्रियामार्फत नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए।

उनले शारीरिक रूपमा काम गर्न सक्षम तथा इच्छुक ज्येष्ठ नागरिकलाई उनीहरूको क्षमता अनुसारका काममा सहभागी गराई उत्पादनसँग जोड्नुपर्ने धारणा राखे। साथै ज्येष्ठ नागरिकसँग सम्बन्धित नीति निर्माण तथा सामुदायिक गतिविधिमा उनीहरूको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले नेपालको जनसंख्या पनि क्रमशः बुढ्यौलीतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउनु चुनौतीपूर्ण बन्दै गएको बताए।

उनले यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशका अनुभवबाट नेपालले सिक्न सक्ने विश्वास व्यक्त गरे।

सम्मेलनले ज्ञान र सीपको अन्तरपुस्ता हस्तान्तरण गर्दै अघिल्लो र पछिल्लो पुस्ताबीच समन्वयको सेतु बन्नुपर्ने सुझाव पनि राष्ट्रपति पौडेलले दिएका छन्।


सम्बन्धित समाचार