२६ वैशाख,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले रुस र युक्रेनबीच तीन दिने युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार मे ९ देखि ११ सम्म युद्धविराम लागू हुनेछ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत युद्धविराम अवधिमा दुवै देशले सबै प्रकारका सैन्य गतिविधि रोक्ने तथा प्रत्येक पक्षबाट १ हजार कैदी आदानप्रदान गर्ने जानकारी दिएका हुन्।
उनले रुसमा विजय दिवस मनाइने र युक्रेन पनि दोस्रो विश्वयुद्धको हिस्सा रहेकाले उक्त अवधिमा युद्धविराम गर्न सहमति जुटाइएको बताएका छन्।
ट्रम्पले आफ्नो आग्रहमा सहमत भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की प्रति आभार व्यक्त गरेका छन्।
उनले यो युद्धविराम लामो समयदेखि जारी घातक युद्ध अन्त्यतर्फको सुरुवात हुन सक्ने आशा व्यक्त गर्दै दोस्रो विश्वयुद्धपछि यो सबैभन्दा ठूलो द्वन्द्व भएको उल्लेख गरेका छन्। साथै युद्ध अन्त्यका लागि वार्ता जारी रहेको पनि उनले बताएका छन्।
यसैबीच हालैका आक्रमणपछि अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ। दुवै देशले एकअर्कामाथि दोषारोपण गरिरहेका छन्। अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ भने इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।


















