Logo

२६ वैशाख,वीरगञ्ज । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु पुष्टि भएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

गत चैत अन्तिम सातादेखि देखापरेको बर्डफ्लुका कारण कार्यक्रमअन्तर्गत पालिएका विभिन्न प्रजातिका पन्छी, अण्डा तथा दाना नष्ट गर्नुपरेको कार्यालयले जनाएको छ।

कार्यक्रमका सूचना अधिकारी खमबहादुर प्रजा का अनुसार सुरुमा टर्की जातका पन्छीमा बर्डफ्लु देखिएको थियो। त्यसपछि क्रमशः फार्ममा रहेका अन्य प्रजातिका पन्छीमा पनि संक्रमण फैलिएको उनले बताए।

उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर फार्ममा पालिएका सबै पन्छी, अण्डा तथा दाना नष्ट गरिएको छ।

कार्यालयका अनुसार बर्डफ्लुका कारण करिब दुई हजार कुखुराका चल्ला, करिब १२ सय गिरीराजलगायत कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको छ।

त्यस्तै एल–वान ८३५ किलोग्राम, एल–टु ४५५ किलोग्राम तथा एल–थ्री एक हजार ८३५ किलोग्राम दाना पनि नष्ट गरिएको कार्यालयले जनाएको छ।

हाल प्रभावित फार्म क्षेत्रमा चुना छर्किने, मल पुर्ने तथा आगोको ताप प्रयोग गरेर निर्मलीकरण गर्ने काम भइरहेको सूचना अधिकारी प्रजाले जानकारी दिए।

उनले यसअघि कृषकलाई वितरण गरिएका विभिन्न प्रजातिका पन्छी पुनः संकलन गर्ने प्रयास भइरहेको भन्दै पोखरानेपालगञ्ज स्थित कार्यालयबाट आवश्यक पन्छी तथा अण्डा ल्याएर कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताए।


सम्बन्धित समाचार
भर्खरै