२७ वैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका सवाल र मुलुकको अर्थतन्त्र सुधारका मुद्दामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
सभापति थापाले राष्ट्रिय हितका विषयमा कांग्रेसले कहिल्यै दलगत स्वार्थ नहेर्ने स्पष्ट पारे। “राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी वा त्यो पार्टी भन्दैन, वर्तमान सरकारलाई पनि हाम्रो सहयोग रहन्छ,” उनले भने, “तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत कार्य र प्रहार भने हामीलाई स्वीकार्य हुने छैन।” उनले राजनीतिमा कानुनी वैधानिकता मात्र नभई नैतिक वैधताको ठूलो महत्त्व हुने चर्चा गर्दै विगतमा कांग्रेस सरकारमा रहँदा संख्या पुग्ने भए पनि उपसभामुखमाथि महाअभियोग नलगाएर नैतिक मूल्य जोगाएको स्मरण गराए ।
पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा कडा रूपमा प्रस्तुत भएका थापाले गत निर्वाचनमा आफ्नै उम्मेदवारलाई असहयोग गर्ने नेता-कार्यकर्तालाई कारबाही गर्ने संकेत गरे। “पराजित मानसिकता त्यागेर संगठन निर्माणमा लाग्नुस्,” उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, “जसले निर्वाचनमा पार्टीलाई धोका दिए, उनीहरूलाई अब केही समयका लागि जिम्मेवारीभन्दा बाहिर राखिनेछ।”
कार्यक्रममा उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले अब कांग्रेसले नवीन ऊर्जाका साथ समाजलाई समेत सम्हालेर अघि बढ्नुपर्ने बताए। “पार्टीलाई मात्र होइन, अब समाजलाई नै नयाँ ढंगले डोर्याउने साझा संगठन बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ,” शर्माले थपे ।
महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र आग्रह-पूर्वाग्रह त्यागेर क्षमतावान् र निष्ठावान् कार्यकर्ताको उचित मूल्यांकन गरिने बताए। त्यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता कमलबहादुर शाहले पार्टीलाई एकढिक्का बनाउनु पर्नेमा जोड दिँदै पूर्वसभापति शेरबहादुर देउवालगायत वरिष्ठ नेताहरूको सम्मानजनक व्यवस्थापनमा ध्यान दिन नेतृत्वलाई आग्रह गरे ।
कैलाली कांग्रेसका कार्यवाहक सभापति खेमराज चौधरीको सभापतित्वमा सुरु भएको यो भेला भोलिसम्म चल्नेछ । भेलामा सुदूरपश्चिमका स्थानीय तह र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरूसँग पार्टीको नीति र आगामी कार्यदिशाबारे गहन छलफल हुने कांग्रेसले जनाएको छ । कार्यक्रममा सहमहामन्त्रीहरू प्रकाश रसाइली स्नेही, उदयशम्शेर राणा र योगेन्द्र चौधरी लगायतले सम्बोधन गरेका थिए ।


















