२८ बैशाख, काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सम्बोधनको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले औपचारिकता दिएको छ ।
सिंहदरबारमा सोमबार बिहान बसेको बैठकले राष्ट्रपतिको सम्बोधन र सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी वर्षका लागि सरकारको कार्यदिशा र योजनाहरू समेटिएको नीति तथा कार्यक्रम पारित भएको बताउनुभयो ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै आजै अपराह्न ४ बजे राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनमा सरकारको वार्षिक योजना र प्राथमिकताहरू प्रस्तुत गर्ने बाटो खुलेको छ ।
आजैदेखि सुरु हुन लागेको संसद्को बर्खे अधिवेशनको पहिलो दिनमै नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । मन्त्रिपरिषद्ले पारित गरेको यो दस्तावेजले नै आगामी जेठ १५ गते सार्वजनिक गरिने बजेटको मुख्य खाका तय गर्नेछ ।
बैठकले राष्ट्रपतिको सम्बोधनमा समेटिने विकासका लक्ष्य र सामाजिक सुरक्षाका विषयहरूलाई समेत अन्तिम रूप दिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।


















