२८ वैशाख,काठमाडौं । अमेरिका र इजरायलसँग जारी तनाव तथा युद्धको प्रभावका बीच इरान गम्भीर तेल संकटमा परेको बताइएको छ। दैनिक ३० लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्दै आएको इरानमाथि अमेरिकी नौसेनाले होर्मुज जलडमरू र प्रमुख बन्दरगाहहरूमा कडा नाकाबन्दी लगाएपछि तेल निर्यात लगभग ठप्प भएको अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उल्लेख गरिएको छ।
निर्यात बन्द हुनुका साथै भण्डारण क्षमता समेत भरिएपछि इरानले अतिरिक्त तेल समुद्रमा विसर्जन गर्न थालेको दाबी गरिएको छ। भूउपग्रह तस्बिर तथा राडार डेटाको विश्लेषणले फारसी खाडी क्षेत्रमा ठूलो परिमाणमा तेल फैलिएको संकेत देखाएको छ।
अप्रिलको मध्यदेखि सुरु भएको भनिएको अमेरिकी नाकाबन्दीपछि इरानको खार्ग टापुस्थित मुख्य निर्यात टर्मिनल तथा तटीय भण्डारण ट्याङ्कहरू पूर्ण रूपमा भरिएको बताइएको छ। इरानले पुराना तेल ट्याङ्करहरूलाई अस्थायी भण्डारणका रूपमा प्रयोग गरे पनि उत्पादन निरन्तर भइरहेकाले ती समेत भरिएका छन्।
ऊर्जा विज्ञहरूका अनुसार तेलका इनार लामो समयसम्म बन्द गर्दा भूमिगत संरचनामा स्थायी क्षति पुग्न सक्छ। पानी र ग्यास प्रवेश गर्दा भविष्यमा पुनः उत्पादन सुरु गर्न अत्यधिक खर्च लाग्ने भएकाले इरान उत्पादन रोक्न नसक्ने अवस्थामा पुगेको विश्लेषण गरिएको छ।
युरोपेली अन्तरिक्ष एजेन्सीको सेन्टिनेल उपग्रह र राडार डाटाले फारसी खाडी र होर्मुज जलडमरू वरपर ठूलो मात्रामा तेलका ढिक्का देखाएको उल्लेख गरिएको छ। मे ६ मा खार्ग टापुको पश्चिम क्षेत्रमा करिब १२० वर्ग किलोमिटर क्षेत्रमा तेल फैलिएको देखिएको बताइएको छ। कुवेतको तट, लावन टापु तथा केश्म टापु आसपास पनि यस्तै काला धब्बाहरू फेला परेको जनाइएको छ।
वैज्ञानिकहरूका अनुसार समुद्रको सतहमा फैलिएको तेलले राडार तस्बिरमा अँध्यारो र चिल्लो भाग सिर्जना गर्ने भएकाले ठूलो तेल चुहावट भएको पुष्टि हुने गर्छ।
तेल चुहावटले फारसी खाडीको समुद्री पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न थालेको छ। कोरल चट्टान, समुद्री चरा तथा माछाहरू विषाक्त तेलका कारण जोखिममा परेका छन् भने ओमानको तटमा ठूलो संख्यामा मरेका झिंगे माछा भेटिएको रिपोर्टहरूमा उल्लेख छ।
विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने यो रणनीतिक मार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ। यसको असर भारतसहित तेल आयातमा निर्भर मुलुकहरूमा प्रत्यक्ष रूपमा देखिन थालेको बताइएको छ।
यसबीच, नाकाबन्दीका बावजुद इरानले गोप्य रूपमा तेल निर्यात गर्ने प्रयास जारी राखेको अमेरिकी गुप्तचर निकायहरूको दाबी छ। इन्डोनेसियाको रियाउ टापु नजिक कम्तीमा १३ वटा ट्याङ्करमार्फत एउटा जहाजबाट अर्को जहाजमा तेल सारेर चीनतर्फ पठाइएको बताइएको छ।
करिब २ अर्ब अमेरिकी डलर बराबरको २ करोड २० लाख ब्यारेल तेल यसरी गोप्य रूपमा ओसारपसार गरिएको अनुमान गरिएको छ। यद्यपि, इरानी अधिकारीहरूले समुद्रमा तेल फालिएको वा तेल चुहावटसम्बन्धी दाबीबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।


















